×

वीरगञ्ज, ४ चैत । महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ । ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको  प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि महोत्सव सुरु भएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उदघाटन गर्दै बर्दिबासको बिशिष्ट पहिचानलाइ यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले महोत्सवमार्फत स्थानीय उत्पादनको प्रबद्र्धन गर्नु सह्रानीय काम भएको बताउँदै हरेक जिल्लामा महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

जिल्लाको व्यापार, पर्यटन, कृषि उपज, हस्तकला एवम् मौलिक कला संस्कृतिको जगेर्नाका लागि महोत्सव राम्रो अभ्यास भएको टेमानीको बुझाई छ । साथै उनले हरेक जिल्लामा कृषि बजारको व्यवस्था गर्नका लागि सम्बन्धीत स्थानीय निकायको ध्यानाकर्षण पनि गराएका छन् । 

बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको चौथो बर्दिबास महोत्सव चैत १३ गतेसम्म जारी रहनेछ । बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले कोरोनापछी लयमा फर्कन नसकेका व्यापार, व्यवसायलाइ महोत्सवले लयमा फर्काउने विश्वास ब्यक्त गरे ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरीका विभिन्न पर्यटकीय क्षेत्रहरुको फोटो भिडियो पनि प्रर्दशन गरिएको छ ।
 

Back to top