×

वीरगञ्ज, ५ चैत ।  वीरगञ्जमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक परार्मदाता कम्पनी ‘स्टडी स्क्वायर’ को शाखा सञ्चालनमा आएको छ । काठमाण्डौ उपत्यका बाहिर तेस्रो शाखाको रुपमा वीरगञ्ज शाखा शनिवारदेखि सञ्चालनमा आएको हो । 

वीरगञ्जको श्रीपुरमा एक औपचारिक कार्यक्रमका बिच शाखाको उद्घाटन गरिएको हो । शाखाको उद्घाटनकै अवसरमा म्याराथन दौड प्रतियोगिता पनि सम्पन्न भएको छ । श्रीपुरस्थित शाखा कार्यालय परिसरबाट सुरु भएको म्याराथन दौड प्रतियोगिता घण्टाघर, माइस्थान, आदर्शनगर, ग्रिनसिटी चौक, घडिअर्वा पोखरी, माइस्थानबाट घण्टाघर हुँदै पुन श्रीपुर पुगेर टुंगिएको थियो । 

१७ वटा कलेज तथा स्कुलका १ सय ७० जना सहभागीमध्ये छात्रतर्फ डेसीमल कलेजका सत्रुधन पटेल, ग्लोबल बिजनेस कलेजका सागर पासवान, ग्लोबल कलेजकै सुशान्त चौधरी र साउथ जोन माविका आसु गिरी क्रमश प्रथम, द्वितीय, तृतीय र शान्तवना भएको स्टडी स्क्वायरका स्थानीय साझेदार सरोजप्रसाद चौधरीले जानकारी दिए । उनकाअनुसार छात्रातर्फ सिद्धार्थ स्कुलकी प्रिती कुमारी पटेल प्रथम, साउथ जोन माविकी प्रेक्षा गौरो द्वितीय, ओम नेशनल एकेडेमीकी रेबीका कुमारी तृतीय र वीरगञ्ज मेघा कलेजकी प्रिया सिंह शान्तवना भइन् । 

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजारसहित प्रमाण पत्र प्रदान गरिएको थियो भने शान्तवनालाई ५ सय रुपैयाँसहित प्रमाण पत्र दिइएको थियो । स्टडी स्क्वायरले उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरुलाई सही रुपमा परामर्श दिएर ठगी हुनबाट जोगिन सहयोगी भूमिका निर्वाह गर्ने चौधरीको विश्वास छ । 

स्टडी स्क्वायरको काठमाण्डौ पछिको दोस्रो शाखा कोशी प्रदेशको राजधानी बिराटनगर मोरङ्मा गत फागुन २० गते उद्घाटन गरिएको थियो । तेस्रो शाखा वीरगञ्जमा सञ्चालन भएको छ भने यस लगत्तै यही चैत १८ गते बाँकेको नेपालगञ्जमा पनि शाखा बिस्तार हुने तयारीमा रहेको स्टडी स्क्वायरका प्रबन्ध निर्देशक सौरभ वैद्यले बताए । 

उद्घाटन कार्यक्रममा मधेश विश्वविद्यालयका रजिष्ट्रार बिजय यादव, स्टडी स्क्वायरका अध्यक्ष राजेन्द्र कुमार वैद्य, प्रबन्ध निर्देशक सौरभ वैद्य, प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, प्रेस संगठनका केन्द्रीय सदस्य निरज पिठाकोटे लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण अशोक संग्रौलाले गरेका थिए । 

Back to top