×

वीरगञ्ज ।  पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शुक्रबारबाट लागूऔषध दुव्र्यसन विरुद्धको अभियान सुरु भएको छ । पटेर्वासुगौली गाउँपालिकाको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारीसँगको सहकार्यमा सामुदायिक संस्था सानो पाइलाले “एक्सन फर ड्रग फ्रि कम्युनिटी” नामक अभियानको सुरुवात गरेको हो । 

हरेक वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन विरुद्ध सचेत गराउने उद्देश्यका साथ अभियान सुरु गरिएको सानो पाइलाका निमित्त प्रमुख कार्यकारी अधिकृत जय साहले बताए । साहकाअनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयबाट अभियानको थालनी गरिएको हो । 

अभियानको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश चौधरीले लागूऔषध दुव्र्यसन सामाजिक विकृतीसँगै गम्भीर जनस्वास्थ्यको समस्याको रुपमा पनि बिकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । 

लागूऔषध दुव्र्यसनले कैयौँ युवाको भविष्य अन्धकारतर्फ धकेलिरहेको बताउँदै उनले जटिल समस्याको निराकरणका लागि गम्भिरताका साथ लाग्नुपर्नेमा जोड दिए । आफ्नो कार्यकालसम्म गाउँपालिकालाई लागूऔषध दुव्र्यसन तथा ओसारपसार मुक्त बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

May be an image of 4 people, people sitting and people standing

विशेष गरी विद्यालय पढ्ने उमेर समूहका युवाहरु लागूऔषधको दलदलमा फस्ने सम्भावना हुनेप्रति चिन्ता व्यक्त गर्दै गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले सही मार्गमा हिँड्नका लागि सबैले प्रेरित गर्नुपर्ने आवश्यक्ता औँल्याइन् । 

लागूऔषधकै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था सानो पाइलासँगको सहकार्यले गाउँपालिकाका विद्यार्थी एवम् युवा वर्ग सचेत हुनेमा उनी विश्वस्त छिन् । 

अभियानको पहिलो सत्रमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, प्रहरी निरिक्षक मनिषा लौडारी र सामुदायिक पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङ्गले लागूऔषध दुव्र्यसनी र यसले पार्ने नकारात्मक प्रभावका विषयमा प्रशिक्षण दिएका थिए । करिब १ सय ५० विद्यार्थीको सहभागिता रहेको सत्रमा लागूऔषधको कुलतमा फसेका एक जना व्यक्तिको जीवनमा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नम्बर १, २ र ४ का अध्यक्ष क्रमश ः फरमान अंसारी, विजय गैरे, बासु पञ्जीयार, कार्यपालिका सदस्य शिवबालक ठाकुर लोहार, सजिना वि.क., इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख रामराजा केशरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इजहार मियाँ दर्जी, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पञ्जीयार लगायतको उपस्थिती रहेको विद्यालयका प्रधानाध्यापक भोजराज गौतमले जानकारी दिए । 

May be an image of one or more people, people standing and people sitting


 

Back to top