×

वीरगञ्ज, ३ चैत । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारी निर्णय फिर्ता लिन  नेपाल किसान संघ पर्साले माग गरेको छ ।

फागुन २६ मा  सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानमा भारी मात्रामा कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले रासायिनक मलको मूल्य बढ्दा किसानहरु मर्कामा परेका छन् ।

त्यसकारण मलको अनुदानमा कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै किसान संघ पर्साले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएको छ । संघले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

संघका पर्सा अध्यक्ष अरिवन्द त्रिपाठीले बुझाएको ज्ञापनपत्रमा सरकारले अनुदान कटौती गर्दा यसअघि प्रतिकिलो १४ रुपैयाँ मूल्य पर्ने युरियाको मूल्य अब बढेर २५ रुपैयाँ पुगेको, प्रतिकिलो ४३ रुपैयाँ रुपैया पर्ने डिएपि अब बढेर ५० रुपैयाँ र ३१ रुपैयाँ पर्ने पोटास अब ४० रुपैयाँ पुगेको उल्लेख छ । यसले सबै भन्दा बढि किसान र त्योसंगै आम उपभोक्ता पनि मारमा पर्ने भएको किसान संघले  जनाएको  छ ।

सरकारको यो निर्णय असंवेदनशील भएको र यसले देशका ७० प्रतिशत किसान, समग्र कृषि क्षेत्र र आम उपभोक्तामा मारमा परेको संघको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले किसानलाई राहत दिने कार्यक्रम ल्याउनुको सट्टा किसानलाई थप मार पर्ने निर्णय गरेकाले उक्त निर्णय अविलम्ब फिर्ता लिनु पर्ने किसान संघको माग छ । सरकारले यो निर्णय यथाशीघ्र फिर्ता नलिए किसानहरु सडक आन्दोलनमा उत्रिने चेतावनी समेत संघले दिएको छ ।

Back to top