×

वीरगञ्ज, ३ चैत । बिहीबार आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा डकवर्थ लुईस विधिअनुसार युएइलाई ९ रनले पराजित गर्दै नेपालले विश्वकप २०२३ को छनोट प्रतियोगितामा आफ्नो स्थान पक्का गरेको छ । आइसीसीको तालिकाअनुसार विश्वकपको छनोट आगामी जुन १८ देखि जिम्बाब्बेमा हुनेछ ।

२०२३ को विश्वकपमा १० वटा टिमले मात्र खेल्न पाउनेछन् । अहिले आइसीसीका स्थायी सदस्य राष्ट्र वा टेस्ट मान्यता प्राप्त टिम नै १२ वटा छन् । यस्तोमा सबै टेस्ट राष्ट्रले समेत विश्वकप खेल्न पाउने छैनन् । यस्तोमा नेपालले विश्वकप छनोट पार गर्दै विश्वकप खेल्न पाउनका लागि टेस्ट राष्ट्रलाई हराउनुपर्नेछ । सामान्यतया टेस्ट राष्ट्रलाई एसोसिएटभन्दा बलियो मानिन्छ त्यसैले नेपालको यात्रा कठिन छ तर विगतमा एसोसिएट टिमले टेस्ट टिमलाई हराएको इतिहास पनि छ त्यसैले नेपालको यात्रा असम्भव पनि छैन ।

आइसीसीको फरम्याटअनुसार २०२३ को विश्वकपमा सिधै पुग्ने प्रतियोगिता आइसीसी विश्वकप सुपर लिग हो । यो लिगमा १२ टेस्ट राष्ट्रसँगै २०१५–१७ आइसीसी विश्वकप लिग च्याम्पियनशिपको विजेताको हैसियतमा नेदरल्याण्ड समेत गरी १३ टिमले खेलिरहेका छन् । यो प्रतियोगिताबाट ८ टिमले मात्रै विश्वकपमा सिधै प्रवेश पाउँछन् । जसअनुसार इङल्याण्ड, न्यूजिल्याण्ड, भारत (आयोजक), बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी ७ राष्ट्र विश्वकपका लागि छनोट भइसकेका छन् ।

यो प्रतियोगितामा आठौं हुने टिम छिनोफानो हुन बाँकी छ । आठौं स्थानमा अहिले वेष्ट इण्डिज छ तर केही खेल बाँकी रहेकोले उसलाई अन्य टिमले उछिन्न सक्ने सम्भावना पनि छ । आठौं स्थानका लागि वेष्ट इण्डिजसँगै दक्षिण अफ्रिका, श्रीलंका र आयरल्याण्ड प्रतिस्पर्धामा छन् । जिम्बाब्बे र नेदरल्याण्ड आठौं हुने सम्भावना नभएकोले प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन् ।

यो प्रतियोगितामा आठौं स्थानभन्दा पछाडि रहने टिमहरु सिधै विश्वकप खेल्न पाउने छैनन् । पछिल्ला ५ टिमहरु विश्वकप छनोट खेल्नुपर्नेछ । नेदरल्याण्ड र जिम्बाब्बे विश्वकप छनोट खेल्नुपर्ने पक्का भइसकेको छ । जिम्बाब्बे टेस्ट राष्ट्र हो । यसबाहेक वेष्ट इण्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्याण्डमध्ये ३ टिम पनि घटुवा भइ विश्वकप छनोट खेल्ने अवस्थामा झर्नेछन् । यी सबै टेस्ट राष्ट्र हुन् ।

यस्तोमा आइसीसी विश्वकप सुपर लिगबाट विश्वकप छनोटमा ५ टिम झर्नेछन् । ५ टिममध्ये एउटा नेदरल्याण्ड हुनेछ । जिम्बाब्बेसहित अन्य ३ टिम जुनसुकै भए पनि टेस्ट राष्ट्र हुनेछन् । यस्तोमा विश्वकप छनोटमा कम्तीमा ४ टेस्ट राष्ट्र हुनेछन् । विश्वकप पुग्न नेपालले यीमध्ये केही टेस्ट राष्ट्रलाई समेत जित्नुपर्नेछन् ।

विश्वकप सुपर लिगबाट घटुवा हुने ५ टिममध्ये जिम्बाब्बे र नेदरल्याण्डबाहेक अन्य ३ टिमको छिनोफानो हुन बाँकी छ । नेपालले भर्खरै खेलेको आइसीसी विश्वकप लिग २ बाट शीर्ष ३ टिम पनि विश्वकप छनोट खेल्न पाउनेछन् । जसअनुसार स्कटल्याण्ड, ओमन र नेपाल छानिएका छन् । नेपालले बिहीबार मात्र आफ्नो स्थान पक्का गरेको हो ।

विश्वकप छनोटमा १० टिम खेल्नेछन् । जसमा आइसीसी विश्वकप सुपर लिगमा पुछारमा परेका ५ टिम, आइसीसी विश्वकप लिग २ बाट शीर्ष ३ टिमसहित क्वालिफायर प्लेअफबाट २ टिम आउनेछन् । क्वालिफायर प्लेअफमा नेपालले भर्खरै खेलेको आइसीसी विश्वकप लिग २ मा पुछारका ४ टिम र च्यालेन्ज लिगका शीर्ष २ टिम खेल्नेछन् ।

विश्वकप लिग २ बाट घटुवा भएका ४ टिम नामिबिया, अमेरिका, युएइ र पपुआ न्यू गिनीसहित च्यालेन्ज लिगका विजेताहरु क्यानडा न जर्सी क्वालिफायर प्लेअफ खेल्नेछन् । यी ७ टिममध्येबाट शीर्ष २ टिम पनि विश्वकप छनोट खेल्न पाउनेछन् । यसरी आइसीसी विश्वकप सुपर लिगको पुछारका ५ टिम, विश्वकप लिग २ का शीर्ष ३ टिम र क्वालिफायर प्लेअफका शीर्ष २ टिम गरी कूल १० टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।

विश्वकप छनोट खेल्ने १० टिममध्ये ५–५ टिमको २ समूह बनाइनेछ । यी समूहमा कुन कुन टिम पर्छन् भन्ने घोषणा हुन बाँकी छ तर छनोटमा ४ टेस्ट टिम समेत खेल्ने भएको हुँदा नेपाल जुन समूहमा परे पनि त्यो समूहमा २ टेस्ट राष्ट्र हुने सम्भावना उच्च छ । यी टिमहरुले आ–आफ्नो समूहका अन्य टिमहरुसँग खेल्नेछन् ।

समूह चरणको खेलपछि दुवै समूहका शीर्ष ३ टिमहरु अर्को चरण पुग्नेछन् । दुवै समूहको पुछारमा पर्ने २–२ टिम गरी कूल ४ टिम बाहिरिनेछन् । यसपछि बाँकी ६ टिमहरुबीच सुपर सिक्स चरणको खेल हुनेछ । सुपर सिक्सका खेलहरु राउण्ड रोबिन फर्म्याटमा हुनेछन् अर्थात सबै टिमले एक अर्कासँग खेल्नेछन् । राउण्ड रोबिन चरणका खेल सकिएपछि अन्तिममा अंक तालिकाको शीर्षमा पर्ने २ टिम मात्र विश्वकप खेल्न पाउनेछन् । बाँकी सबै टिम बाहिरिनेछन् ।

Back to top