×

वीरगञ्ज, ३० फागुन ।  ‘हामी अरुको आलोचना गर्ने र अरुकै कमी कमजोरी औँल्याउनमा समय खर्चीरहेका हुन्छौँ । आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट चुकिरहेका हुन्छौँ’, प्राध्यापक डा. हरेराम ठाकुरको यो कथन अधिकांश अवस्थामा लागू हुन्छ । यहाँ हात चलाउनेभन्दा बढी मुख चलाउनेहरुको जमात छ । ठाकुरकै भनाईलाई आधार मान्ने हो भने विकास र परिवर्तनका काममा हात तान्ने र हातेमालो गर्ने भन्दा खुट्टा तान्ने र गिराउनेहरुको कमी छैन । 

यस्ता यावत चुनौतीका बाब्जुद पनि निर्वाचित भएको छोटो समयमै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले परिवर्तनका धेरै काम गर्न सफल भएको प्राध्यापक डा. ठाकुरको बुझाई छ । उनी भन्छन्, ‘युवा, जोश, जाँगर र साहसहितको मेयर महानगरमा निर्वाचित हुनुभएको छ । उहाँ आएकै दिनदेखि महानगरलाई सुधार्नका लागि प्रयासरत हुनुहुन्छ । दिनरात नभनी काम गरीरहनुभएको छ । तर महानगर मातहतका वडाका जनप्रतिनिधि, कर्मचारी लगायतले अपेक्षाकृत सहयोग नपाएको मैले महसुस गरेको छु ।’

सपथ ग्रहण गरेकै दिनदेखि वर्षौंसम्म बन्न नसकेको घण्टाघरको मुख्य सडक बनाउनेदेखि माइस्थानको गहवामाई मन्दिर सौन्दर्यकरण, चार पाङ्ग्रे सवारी पार्किङ्ग, महानगरको मूख्य सडकको सरसफाई लगायतका क्षेत्रमा सुधार भएको डा. ठाकुरको भनाई छ । यसका अलावा महानगरका प्रशासनिक कामकाजलाई पनि सरल र व्यवस्थित बनेको पनि उनले बताए ।  

पछिल्लो समयमा सञ्चालित सरसफाई अभियानका सन्दर्भमा डा. ठाकुर भन्छन्, ‘महानगरलाई सफा र सुन्दर राख्छु भन्ने सोच पलाउनु अत्यन्तै राम्रो कुरा हो । गर्न चाहेपछि अवश्यक सकिन्छ भन्ने उदाहरण पनि मेयर साबले पेश गर्नुभएको छ । मुख्य सडक र आदर्शनगरलाई मात्रै सफा गरेर महानगर सफा हुँदैन । ३२ वटै वडाको अवस्थालाई सुधार्न आवश्यक छ । त्यसका लागि महानगरका सबै वडामा ५ जनाका दरले नियुक्त भएका सरसफाईकर्मीहरु सक्रिय भएर लागेमा पक्कै पनि महानगरले मुहार फेर्छ भन्नेमा म ढुक्क छु ।’ 

उनी थप्छन्, ‘महानगरको काम मात्रै भनेर हामी पन्छिन हुँदैन, महानगरले सूचना जारी गरेपनि हामी जानी जानी फोहोर गर्छौँ, आफ्नै घरको अगाडी पनि जथाभावी फोहोर गर्दा महानगरलाई पनि चुनौती थपिएको छ ।’ ठाकुरले अगाडी भने, ‘चैत मशान्तसम्म महानगरको मुहार फेर्ने मेयर साबको उद्घोषले पनि सार्थकता पाओस् भन्ने हाम्रो इच्छा छ, अब धेरै समय बाँकी पनि छैन, के हुन्छ हेरौँ ।’ सचेत नागरिकको कर्तव्यस्वरुप महानगरका सकारात्मक अभियानमा साथ र सहयोग गर्न पनि प्राध्यापक डा. ठाकुरले नगरबासीसँग आग्रह गरेका छन् । 

महानगरले गरेका कामका बारेमा प्राध्यापक डा. ठाकुरको विचारसँग सहमत जनाउँछिन् हल्ट प्राइज बिपिसीकी सार्वजनिक सम्बन्ध प्रबन्धक (पिआर म्यानेजर) सुरक्षा पन्त । सरसफाई मूख्य सडक सुधार प्रशासनिक काममा महानगरले काम गरेपनि सहायक सडक एवम् भित्री गल्लीहरुमा भने काम नगरेको पन्तको टिप्पणी छ । साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सुधारोन्मुख काम हुन नसकेको बताउँदै उनले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएकी छन् । विगतको तुलनामा धेरै सुधार भएपनि यतिले मात्रै नपुग्ने पन्तको धारणा छ । साथै उनले मधेशी समुदायमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउनुपर्ने पनि बताइन् । 

राम्रो कामको प्रसंशा गर्नुपर्ने बताउँदै वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले पनि महानगरको कामको सह्राना गरे । अहिलेसम्मको कार्यकाल सही ढंगले अघि बढीरहेको बताउँदै युवा अभियानतासमेत रहेका चौगाई यतिले मात्रै जनता खुशी हुने ठाउँ भने नभएको तर्क गर्छन् । थुप्रै व्यवस्था परिवर्तन भएसँगै जनताका आकाङ्क्षा पनि बृद्धि भएको हुँदा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, महिला, युवा, भौतिक पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

Back to top