×

फाइल तस्विर ।

वीरगञ्ज, २८ फागुन । नेपालका तिनवटा राजनीतिक दलले मधेशकेन्द्रित जनता समाजवादी पार्टी नेपाल, (जसपा) विरुद्ध कार्यगत एकता गर्ने सहमति गरेका छन् । 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बीचमा कार्यगत एकता गर्ने शनिबार सहमति भएको छ ।

उनीहरूको कार्यगत एकता उपेन्द्र यादव र उनको दल जसपाविरुद्ध केन्द्रित देखिएको छ । तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीका आधारमा सहकार्य गर्दै कार्यगत एकताका निम्ति सहमति भएको छ ।’

लोसपाका नेता उपेन्द्र महतोले तीन दलका बीचमा कार्यगत एकता गरेर अगाडि बढ्ने र विभिन्न मुद्दामा एकताका साथ अगाडि बढ्ने सहमति भएको बताए । सहमतिपत्रमा तीनै दलका अध्यक्ष ठाकुर, राउत र चौधरीले हस्ताक्षर गरेका छन् ।

शनिबार नै उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम थियो । सत्तारूढ गठनबन्धनभित्र रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) र जनमत पार्टी उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान लिए । सोही अडानअनुसार उनीहरूले छुट्टाछुट्टै उम्मेदवारीसमेत दर्ता गराए ।

तीन दलबीच शनिबार नै ‘कार्यगत एकता’ गर्ने सहमतिपत्र सार्वजनिक हुनुले त्यसको उद्देश्य जसपा अध्यक्ष उपेन्द्र यादव र जसपाले उठाएको उपराष्ट्रपतिको उम्मेदवारलाई असहयोग गर्नेरूपमा रहेको देखिन्छ ।

जनमतले उठाएको उम्मेदवारलाई लोसपा र नाउपाको साथ, सहयोग र समर्थन रहेको छ । शनिबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसक्दा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापश्चात् समेत सहमतिको प्रयास जारी हुने र उम्मेदवारी फिर्ता लिएर एकमतका आधारमा अगाडि बढ्न सकिने नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।
जसपाले रामसहाय यादव र लोसपा, जनमतसँगै नाउपाले ममता झालाई समर्थन गर्दै उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगले महिलालाई मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने बताएपछि जसपाले प्रमिला यादवलाई पनि उम्मेदवारी दर्ता गराएको छ ।

सत्ता साझेदार दलले उपराष्ट्रपति आफ्नै गठबन्धन दलबाट चुनिनुपर्ने बताए पनि मधेसी दलबीच एकताको भाव नदेखिँदा उनीहरूका लागि आगामी यात्रा कठिन देखिएको छ ।

मधेश आन्दोलनपछि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा चुनावबाट सुरु भएको मधेशवादी शक्तिको ओरालो यात्रा तीब्र बन्यो । मधेशमा बरु पुरानै राजनीतिक दलको पुनरागमन भएको देखिन्छ भने नयाँ शक्तिको उदय (सिके राउत नेतृत्वको जनमत पार्टी) देखिएको छ । फलस्वरूप उपेन्द्र यादव जस्ता मधेशमा आफूलाई ‘मसिहा’ सम्झने नेताले हार बेहोर्नुपरेको थियो ।

अर्कातर्फ एकलजातीय र नश्लीय राज्यसत्ताकविरुद्धमा लडेका उपेन्द्र जस्ता नेताहरू आफ्नो पार्टीबाट यादव समुदायकै नेतालाई मात्रै जिम्मेवारी तथा राज्यको लाभको पदमा पु-याउने कुराले समेत जसपाको अवस्था पहिला जस्तो सशक्त नभएको राजनीतिक विश्लेषक सञ्जय तिवारीले बताए ।

उपेन्द्र जहिले र जसरी पनि यादव समुदायकै मान्छेलाई कुनै पनि लाभका पदमा पु-याउन खोज्नाले अन्य मधेशवादी दल एकजुट हुनु राम्रो भएको उनले बताए । राजधानी दैनिकबाट साभार ।

Back to top