×

वीरगञ्ज, २६ फागुन ।  एकल महिलाप्रति समर्पित ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार राम लामा ‘अविनाशी’द्धारा निर्मित तथा वरिष्ठ कलाकार एवम् निर्देशक आकाश अधिकारीद्धारा निर्देशित उक्त गितको भिडियो बिहिबार राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन् । 

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विभेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 
एकल महिलाका लागि सुरक्षा कोष स्थापना भएपनि प्रभावकारी परिचालन हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरिन् । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँदै उनले म्यूजिक भिडियोले समुदायका महिलाको अवस्थालाई चित्रण गरेको बताइन् । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ बर्णन गरेको बताइन् । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरे मात्र समाजप्रतिको दायित्व बढ्ने बताए । गीतले सामाजिक रुपान्तरणको  सन्देश प्रवाह गर्न खोजेको अधिकारीले बताए । 

गीतमा बहुचर्चित गायिका अञ्जु पन्तको सुमधुर आवाज सुन्न सकिन्छ । आकाश अधिकारी र उमा गिरीले उक्त भिडियोमा अभिनय गरेका छन् । लिरिक्स राम लामा ‘अविनाशी’को रहेको छ भने म्युजिक शक्ति बल्लवले दिएका छन् । उक्त गीत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
 

Back to top