×

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुई-दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन लगभग डेढ दशक पश्चात हुने तरखरमा छ । ०६५ सालपछि धेरै पटक मिति तोकिए पनि स्ववियूको निर्वाचन हुन सकेको छैन । नेपालका अन्य धेरै शैक्षिक संस्थामा अघिल्लो वर्षहरुमा स्ववियू निर्वाचन भएपनि वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भने विभिन्न कारणहरुले निर्वाचन हुनसकेको थीएन । देशको राजनीतिक अवस्था, मधेश तथा विभिन्न सामाजिक आन्दोलन, संविधान लेखन, आम तथा स्थानीय निर्वाचन जस्ता कयौँ कारणहरुले ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी वर्षौँदेखि नेतृत्व विहिन अवस्थामा रहेका छन् । जस्ले ठूलो स्तरमा विद्यार्थी र क्याम्पसको प्रगतिलाई असर पारेको छ ।

स्ववियू निर्वाचनलाई भविष्यमा देशलाई आवश्यक पर्ने दक्ष राजनीतिक नेतृत्व उत्पादन गर्ने नर्सरीको रुपमा लिन गरिन्छ । तर, विगतका दिनमा स्ववियू निर्वाचन नभएको कारण देशलाई नयाँ नेतृत्वको साच्चिकै खाँचो परेको छ । नयाँ पुस्ताले राजनीतिमा पाउनु पर्ने अवसर गुमाएका छन् भने राजनीतिबाट एउटा युवा समूहको विस्वाससमेत उठेको छ । अर्कोतिर नयाँ सोच र प्रगतिशील विचार बोकेका व्यक्तिहरुलाई राजनीतिबाट टाढा बस्नु पर्ने अवस्था छ ।

नेपाली राजनीतिक इतिहास पल्टाउने हो भने हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा युवा विद्यार्थीको महत्वपूर्ण योगदान छ । २००४ सालको जयतु संस्कृतम् आन्दोलन, २००७ सालको राजनीतिक परिवर्तनपछि क्‍याम्पसहरूमा गठन भएको छात्र संघ नै अहिलेको स्ववियूको जग थियो । ०३६ को जनमत संग्रह, ०४६ सालको राजनीतिक परिवर्तन, ०६२ र ६३ को जनआन्दोलनमा संघर्षको अग्रमोर्चामा विद्यार्थीहरु नै थिए । त्यसैगरि विगतमा ३/३ पटक संघीयता, मधेशी, मुस्लिम, आदिवासी, थारु, महिलालगयात सम्पूर्ण उपेक्षित जाति र समूहको हितका लागि गरिएको मधेश आन्दोलनमासमेत विद्यार्थीहरुले ठूलो भूमिका खेलेका छन् । जनताको हक, अधिकार पटकपटक भएका राजनीतिक आन्दोलनलाई सफल बनाउन विद्यार्थी संगठन र आन्दोलनले खेलेको भूमिका अतुलनीय छ ।

त्यसैगरि विद्यार्थी आन्दोलनले देशमा भएको अन्य कयौँ अराजकताविरुद्ध समय-समयमा सरकार र सरोकारवाला निकायहरुलाई सचेत गराउँदै आएको छ । आजपनि नेपालमा गौरवको यहि इतिहासलाई विद्यार्थी राजनीतिले आफ्नो औचित्य पुष्टी गर्ने प्रमाणको रुपमा उपयोग गरिरहरेको छ । तर, पछिल्लो समय स्ववियू निर्वाचन नभएका कारण विद्यार्थी संगठनहरुलाई आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने चुनौतीहरुको सामना गर्नु परिरहेको । लामो समयदेखि स्ववियू निर्वाचन नभएका कारण अहिले विद्यार्थीहरुलाई राजनीतिक दलहरुले गलत ढंगबाट प्रयोग गर्ने गरेका छन् भने ठाकुरराम क्याम्पसमा एक किसिमको अराजकता मचिएको छ । आजको दिनमा विद्यार्थी नेतृत्वमाथि आम नागरिकको विश्वास छैन र विद्यार्थी राजनीतिक अवस्थासमेत दयनीय छ ।

स्ववियूले देशका राजनीतिक शक्तिहरुको मनोमानीविरुद्ध खबरदारी गर्न, नयाँ पुस्तालाई राजनीतिप्रति रुचि जगाउन, राजनीतिक चेतनालाई देशको कुना कन्दरासम्म पुर्‍याउने, शिक्षा क्षेत्रका तमाम विकृती र विसंगतिको अन्त्य गर्दै प्रतिभा पलायन रोक्न, शैक्षिक गुणस्तर र समानताको बहस गर्न, उपयुक्त शैक्षिक क्यालेन्डर निर्माण गरी लागू गर्न, विश्वविद्यालयमा कार्यरत कर्मचारी र प्राध्यापकहरूलाई आफ्नो कर्तव्यप्रति वफादार बनाउन, पाठ्यक्रमको समयानुकुल परिमार्जन गर्न ठूलो र महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

नेपालको शैक्षिक इतिहासलाई हेर्ने हो भने वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको नाम सूवर्ण अक्षरहरुमा लेखिएको पाउनु हुनेछ । नेपाललाई चाहिने जनशक्ति र बुद्धि उत्पादन गर्ने दशकौँदेखिको शैक्षिक थलो हो ठाकुरराम । देशलाई प्रधानमन्त्री र कयौँ महत्वपूर्ण जनशक्ति दिएको ठाकुरराम नेतृत्वको खाँचोका कारण आज अराजकताको सिकार भएको छ । नेपालका अन्य स्थानहरुमा धेरै पछि खुलेका क्याम्पसहरुले प्रगति गरे पनि ठाकुरराम उपेक्षित हुँदै आएको छ । यस्को एउटा ठूलो कारण स्ववियू निर्वाचन नहुनु पनि हो ।

अर्को तिर नेतृत्व बिहिन अवस्थामा रहेको हाम्रो ठाकुरराम क्याम्पसको विद्यार्थीको संख्या पनि दिन प्रति दिन घट्दै गएको छ । राम्रो शिक्षाका खोजीमा विद्यार्थीहरु मोटो रकम तिरेर भएपनि निजि क्याम्पसमा अध्ययन गर्न बाध्य छन् । त्यस्तै अति आवश्यक पूर्वाधारहरु कमजोर छन् । हेर्ने हो भने पिउने पानीको समेत सहज सुविधा छैन् । शौचालयहरु महिला तथा अपाङ्गमैत्री छैनन् र भएका शौचालयसमेत फोहोर छन् । सुलभ क्‍यान्टिनको व्यवस्था छैन्, पुस्ताकालयहरुमा पुस्तकको खाँचो छ । खेल मैदान र खेल सामग्रीको अभाव छ । क्‍याम्पसका भवन, कक्षा कोठा, डेक्सबेन्च र ल्याव जीर्ण छन्, अपाङ्गमैत्री छैनन् । क्‍याम्पस परिसरमा सरसफाई छैन् । होस्टेलको अवस्था दयनीय छ । बिजुलीको उचित व्यवस्थापनसमेत हुन् सकेको छैन । त्यसैगरी क्याम्पसमा भ्रष्टाचार मौलाएको छ । नियमित कक्षा सञ्चालन नभएको अवस्था छ । क्‍याम्पसका यी महत्वपूर्ण पक्षहरुमा सुधार ल्याउन स्ववियू निर्वाचनबाट आएको नेतृत्वले धेरै ठूलो योगदान दिनसक्छ ।

हाम्रो ठाकुरराम क्याम्पसलाई आज सहि नेतृत्वको खाँचो परेको छ र यहि खाँचोलाई पूर्ण गर्न स्ववियू निर्वाचन अवसर बनेर आएको छ । हामि सम्पूर्ण विद्यार्थीहरुले मिलेर आगामी चैत ५ गते तोकिएको दिन शान्तिपूर्ण तरिकाले स्ववियू निर्वाचन सफल पार्न तिर लाग्नुपर्छ । आफ्नो विद्यार्थीको आवाज सामूहिक रुपमा राज्य र सरोकारवाला समक्ष पुर्‍याउने यो सूवर्ण अवसर हो । यस्लाई खैर जान दिनु हुन्न । त्यस्तै विद्यार्थी राजनीतिकबाट उठेको जनताको बिस्वासलाई फिर्ता ल्याउन पनि हामीले स्ववियू निर्वाचनको आवशयकता छ । किनभने, स्ववियू निर्वाचनले हामि विद्यार्थीहरुलाई आफ्नो नेतृत्वकर्ता छान्ने मौका दिन्छ जस्ले हामि अनुकुल विद्यार्थीको हकहित, क्याम्पस व्यवस्थापन र शिक्षामा सुधार ल्याउन कार्य गर्छ । फलत क्याम्पसको अवस्थामा सुधार आउछ र गुमेको अध्ययन गर्ने वातावरण फेरी फिर्ता भएर आउछ ।

स्ववियूले नेतृत्व मात्र नदिएर विद्यार्थीलाई अध्ययन गर्ने जीवनमै राजनीतिक नेतृत्वको अभ्यास गर्न अवसर दिनेगरेको छ । स्ववियूलाई मिनि संसद्समेत भन्ने गरिएको छ । त्यसैले नयाँ पुस्तालाई राजनीतिक अभ्यासको लागि प्लेटफर्म उपलब्ध गराउन पनि स्ववियूको निर्वाचनको आवश्यकता छ । स्ववियूले क्याम्पसमा मौलाएको गुन्डागर्दी, भ्रष्टाचार, झैझगडासमेत रोक्न सहयोग पुर्‍याउँछ । स्ववियूको सफलता हामि सम्पूर्ण विद्यार्थीको सफलता हुन्छ र ठाकुरराम बहुमुखी क्याम्पसको प्रगतिको लागि यो एउटा कोशे ढुङ्गा प्रमाणित हुन् सक्छ । तसर्थ सबै विद्यार्थी, कर्मचारी वर्ग र अन्य सम्पूर्ण सरोकारवाला निकायलाई स्ववियू निर्वाचन सफल पार्न म अनुरोध गर्दछु ।

लेखक ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । उनि समाजवादी विद्यार्थी यूनियनसँग पनि आबद्ध छन् ।

Back to top