×

वीरगञ्ज, ४ फागुन ।  मानसिक स्वास्थ्य प्रवद्र्धनलाई आफूले जहिले पनि प्राथमिकतामा राखेको मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्काले बताइन् । 

नेपाल मेडिसिटी बयोद्या अस्पताल बीरगञ्जले अस्पतालमा आयोजना गरेको स्वागत कार्यक्रममा मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ, हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंसाकार लगायतका टोलीले अस्पतालको अवलोकन भ्रमण तथा अस्पतालका चिकित्सकहरुसँग साक्षात्कार गरेको थियो । 

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ खड्काले आफूले मिस नेपालको परियोजना अन्तर्गत मानसिक स्वास्थ्यलाई छनौट गरेको र सोही अनुसार प्रवद्र्धनका कार्यहरु गरिरहेको बताइन् । मानसिक स्वास्थ्य र समाजमा यस प्रतिको बुझाईका बीचमा धेरै समस्या रहेकोले यसमा आफूले कार्य गर्ने बताउदै स्वास्थ्यकर्मीहरुसँग सहकार्य गर्ने उनको योजना छ । 

मिस नेपाल अर्थ २०२२ ले आफू पेशाले पनि चिकित्सक रहेकोले स्वास्थ्यको क्षेत्रमा अझ बढी नजिकबाट काम गर्ने बताउदै आफ्नो प्राथमिकता प्रतिरोधात्मक स्वास्थ्य रहेको जानकारी दिइन् । रोग लाग्नु भन्दा रोग लाग्नै नदिने तर्फ जनमानसलाई सचेतना फैलाउने कार्यमा आफूले काम गरिरहेको र आफ्नो परियोजनाको दौरानमा आफूले फोहर ब्यवस्थापनको क्षेत्रमा कार्य गरेको अनुभव पनि उनले सुनाइन् । 

कोभिड पछि मानव स्वास्थ्य अझ बढी प्राथमिकतामा परेको र आफूहरुले मिस नेपाल ब्युटी प्याजेण्टका लागि नेपाल मेडिसिटी अस्पतालसँग विगत ३ वर्षदेखि सहकार्य गरिरहेको हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंसाकार बताए ।

नेपाल मेडिसिटी अस्पतालले अब उपचारका लागि नेपालीहरुलाई विदेश जान नपर्ने र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरिरहेको नेपाल मेडिसिटी बयोद्या अस्पतालका प्रमुख विजय रिमालले बताए । आफूहरुले हिडन ट्रेजरको मिस नेपालका लागि विगत लामो समयदेखि सहकार्य गर्दै स्वास्थ्य प्रवद्र्धनमा कार्य गरिरहेको र सन २०१९ को मिस वल्र्ड २०१९ मा ब्युटी विथ अ पर्पजमा विजयी मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठका लागि सिन्धुपाल्चोकको सोल्सिङ्ग गाउँमा स्वास्थ्य सेवामा सहकार्य गरेको पनि उनले जानकारी दिए । 

Back to top