×

वीरगञ्ज, ३ फागुन ।  सामाजिक बेथिति एवम् विसङ्गतिविरुद्ध जागरुप हुनुपर्नेमा वीरगञ्जको रोयल एकेडेमीका विद्यार्थीहरुले जोड दिएका छन् । रोयल एकेडेमीको वार्षिकोत्सवका अवसरमा नेपालको प्रतिविम्बलाई प्रस्तुतीमार्फत उजागर गर्दै विद्यार्थीहरुले सामाजिक कुरीति र कुसंस्कारलाई उखेल्नुपर्ने सन्देश दिएका थिए । 

कक्षा ५ का विद्यार्थीहरुले देशमा व्याप्त नकारात्मक अवस्थाको वर्णन गर्दै देश प्रगतिको बाधक बनेका अँध्यारा पाटालाई उँज्यालो बनाउनुपर्ने सन्देश दिएका थिए । कक्षा ४ का विद्यार्थीहरुले धार्मिक विभेद एवम् धर्मप्रतिको गलत बुझाईमा प्रकाश पार्ने किसिमको प्रस्तुती प्रस्तुत गरेका थिए । धर्मको नाम फरकफरक भएपनि उद्देश्य एउटै भएको हुँदा धर्मका आधारमा विभेदजन्य एवम् हिंसात्मक गतिविधि गर्न नहुने उक्त प्रस्तुतीको मूल सन्देश थियो । 

कक्षा ५ का छात्रछात्राहरुले प्रदुषित राजनीतिलाई चित्रण गरिएको काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को ¥याप गित प्रस्तुत गरेका थिए । सबै आफ्नै दुनो सोज्याउने र जनताको आवाज बोलिदिने व्यक्ति कोही नभएको भाव उक्त प्रस्तुतीले दिएको थियो । 

कक्षा ५ कै विद्यार्थीहरुले अर्काे एउटा दमदार प्रस्तुतीमार्फत राष्ट्रभाव झल्काएका थिए । लोकप्रिय गायक प्रकाश सपुतको शब्द, संगीत र स्वरमा रहेको ‘मेरो पनि हैन र ?’ भन्ने बोलको गीतमा प्रस्तुती गर्दै देशप्रतिको प्रेम र एकताको सन्देश विद्यार्थीहरुले प्रवाह गरेका थिए । ५ कक्षामै अध्ययनरत विद्यार्थीहरुले ‘हट्ने हैन डटी लड्ने’ बोलको गीतमा पनि प्रस्तुती दिएका थिए । 

कक्षा ६ का विद्यार्थीहरुले तेजाव आक्रमण सम्बन्धी सन्देशसहितको नृत्य प्रस्तुत गर्दा कार्यक्रममा उपस्थित अतिथी एवम् अभिभावकहरुले गडगडाहट तालीले विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए । त्यसपछि विद्यार्थीरुले देशका सकारात्मक पक्षसहित उज्यालोतर्फ उन्मुख कुराहरुको बारेमा पनि प्रकाश पारेका थिए । कार्यक्रमको बिचबिचमा विद्यार्थीहरुले राष्ट्रियता झल्काउने विभिन्न जानकारीमुलक प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।  

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्मका सबै विद्यार्थीहरुले कुनै न कुनै क्रियाकलापमा सहभागिता जनाएको एकेडेमीकी सञ्चालिका सबनम श्रेष्ठले बताइन् । हरेक अभिभावकले आफ्नो सन्तानको प्रस्तुती हेर्न रुचाउने हुँदा सबैलाई समावेश गरिएको एकेडेमीका प्रबन्ध निर्देशक ओम प्रकाश श्रेष्ठको भनाई छ । शैक्षिक संस्थाको कार्यक्रमलाई सिकाईमैत्री बनाउने एकेडेमीको उद्देश्यबमोजिम शैक्षिक तथा सामाजिक र राष्ट्रियता झल्काउने सन्देशमुलक प्रस्तुतीलाई जोड दिइएको श्रेष्ठले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले रोयल एकेडेमीको कार्यक्रम अरु विद्यालयको तुलनामा पृथक हुने बताए ।

विद्यार्थीहरुलाई उनीहरुको रुचीअनुसारको सिकाईमा जोड दिनुपर्ने बताउँदै उनले रोयल एकेडेमीले यसलाई प्राथमिकता दिएकोमा आभार व्यक्त गरे । शैक्षिक संस्थाहरु विद्यार्थीलाई वाक्क र दिक्क लाग्ने बढी भएको हुँदा रमाइलो लाग्ने किसिमको वातावरण निर्माण गर्नुपर्नेमा कर्णको जोड छ । उनले भने, ‘विद्यालय विद्यार्थीलाई दिक्क लाग्ने खालको हुनुहुँदैन, उनीहरुलाई घर बस्दा दिक्क लागोस् अनि स्कुल जाउँ–जाउँ लागोस्, त्यस्तो बनाउनुपर्छ ।’ 

रोयल एकेडेमीमा आफ्ना सन्तान पढाउने अभिभावकहरुलाई अहिलेसम्म गुनासो गर्ने ठाउँ नदिएको एकेडेमीकी प्रधानाध्यापिका बिजया ओझैया बताउँछीन् । विद्यार्थीहरुलाई स्कुलमा पनि घर जस्तै अनि परिवार जस्तै वातावरण बनाएको बताउँदै उनले रमाउँदै र खेलाउँदै सिकाउनुपर्नेमा एकेडेमीले जोड दिएको बताइन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि एवम् व्यक्तित्व विकासलाई बढी प्राथमिकता दिएको प्रधानाध्यापिका ओझैयाको भनाई छ । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एकेडेमीका सहायक प्रधानाध्यापक सुमन श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासले नै एकेडेमीको सफलतालाई निर्धारण गर्ने धारणा राखे । 

कार्यक्रममा ग्लोबल बिजनेस कलेजका प्रधानाध्यापक श्रीराम दास, महिला उद्यमी निभा दास, प्रभु अस्पतालकी सञ्चालिका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, युवा नेता ओमप्रकाश सर्राफ, सामाजिक अभियानता प्रकाश थारु, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमको सहजीकरण भने अत्यन्तै रोचक देखिन्थ्यो । हरेक चरणमा फरक फरक विद्यार्थीहरुले पृथक तरिकाले सहजीकरण गरेको पहिलो दृश्य रोयल एकेडेमीको कार्यक्रममा हेर्न पाइन्छ । सबै विद्यार्थीले थोरै समय भएपनि बोल्न पाउँदा उनीहरुको आत्मविश्वास बढ्ने भएकाले सबैलाई समान अवसर प्रदान गरेर विद्यार्थीहरुलाई कार्यक्रम सहजीकरणको जिम्मेवारी दिइएको एकेडेमीका प्रबन्ध निर्देशक ओम श्रेष्ठले बताए । 


 

Back to top