×

वीरगञ्ज, २५ माघ ।  सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी, सुरक्षित र निशुल्क बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  सरकारले कानुन नै बनाएर अनईच्छित गर्भ पतन गर्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि सेवा प्रवाहमा विभिन्न समस्या देखिएको उनीहरुको भनाई छ । 

विशेषगरि अविवाहित किशोरी वा युवति गर्भवति हुँदा सुरक्षित गर्भपतन गराउन समस्या हुने गरेको उनीहरुको भनाई छ । युवा नामक संस्थाले वीरगञ्जमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले गर्भपतन गर्न पाउने कानुनी अधिकारको हनन नहुन आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताएका छन् । उनीहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरु मार्फत समुदायमा गर्भपतनको अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिएका छन् । 

सङ्कुचित मानसिकताको समाजलाई शिक्षितसँगै सचेत बनाउनुपर्नेमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जोड दिए । गर्भपतनका कुरा गर्दा लाज मान्ने र लुकाउने प्रवृतिलाई हटाउनुपर्ने मेयर सिंहको भनाई छ । सुरक्षित गर्भपतन अत्यन्तै संवेदनशिल विषय भएको बताउँदै उनले महानगरले यसको लागि अझै प्रभावकारी ढंगले काम गर्न युवासँग सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

वीरगञ्जको बगही स्वास्थ्य चौकीमा ३ वर्षदेखि बन्द अवस्थामा रहेको सुरक्षित गर्भपतन सेवालाई सुचारु गर्ने तयारी गर्ने पनि मेयर सिंहको भनाई छ । उनले भने, ‘यति संवेदनशिल विषयमा यस्ता गोष्ठी र तालिममा मात्रै बोल्ने र भत्ता बुझेर हुँदैन, हलबाट बाहिरिएपछि पनि प्रभावकारी रुपमा लाग्नुपर्छ ।’ 

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले पालिकाले आवश्यकताका आधारमा संघसंस्थासँग सहकार्य गरेर काम गर्न सक्ने जानकारी दिए । शिक्षा हरेक कुरासँग जोडिएको हुँदा शिक्षामार्फत सचेत बनाउन महानगरले काम गरीरहेको र आगामी दिनमा पनि निरन्तरता दिने कर्णको भनाई छ । 

कतिपय अवस्थमा अधिकारबारे जानकारी भएपनि सेवा लिँदा गोपनीयता कायम नहुने डरले असुरक्षित बाटो प्रयोग गर्ने गरेको पाईएको सामाजिक अगुवाहरुको भनाई छ । छलफलमा महिला जागृति मिसनकी अध्यक्ष सुधा मिश्रले नियम बनाएर मात्रै नहुने बताइन् । पितृसत्तात्मक सोचका कारण कार्यान्वयनका क्रममा आउने जटिलतालाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले नीजि विद्यालय प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेतना जगाउन तयार रहेको बताए । निजीसँगै सरकारी विद्यालयमा स्वास्थ्य विषय अध्यापन गराउने शिक्षकहरुले लाज मान्ने र खुलेर नपढाउँदा विद्यार्थीहरु स्पष्ट हुन नसकेको श्रीवास्तवको भनाई छ । उनले भने, ‘अझ कतिपय अवस्थामा त छात्राहरुलाई म्याडम र छात्रहरुलाई सरले मात्रै पढाउनुपर्ने अवस्था पनि आउँछ, यसका साथै यदि पढाएपनि यो के पढाएको भन्दै अभिभावकहरु नै स्कुलसम्म आइपुग्छन् ।’ 

कानुनले १२ हप्तासम्मको गर्भ स्वेच्छाले गर्भपतन गराउन सक्ने अधिकार दिएपनि निर्णय गर्न महिला स्वतन्त्र नरहेको नेशनल मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षमा अधययनरत छात्रा चाँदनी पाण्डेयले स्पष्ट पारिन् । महिलाले आफ्नो शरिरको बारेमा आफै निर्णय लिन पाउने बताउँदै उनले साँघुरो सोचाईलाई फराकिलो बनाउनुपर्नेमा जोड दिइन् । 

क्यानडाको व्यवस्थाका बारेमा सुनाउँदै उनले भनीन्, ‘हाम्रो समाजमा गोपनीयताको सबैभन्दा ठूलो डर हुन्छ, साथिभाईले परिवारले थाहा पाए भने के भन्लान् भन्ने डरले पनि अधिकांशले असुरक्षित रुपमै विभिन्न औषधीहरुको प्रयोग गरेर गर्भपतन गरीरहेका हुन्छन्, जसले गर्दा उनीहरुमा विभिन्न किसिमका स्वास्थ्य जटिलताहरु देखिने जोखिम बढ्छ ।’ 

वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाकी इन्दिरा लोहनी, महानगरपालिकाको गैरसरकारी संस्था समन्वयका प्रमुख राजिव गिरी, माइती नेपालकी गोमा पौडेल, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, पत्रकार सुरेश बिडारी लगायतले सुरक्षित गर्भपतनका विषयमा थप चर्चा गरेका थिए । 

युवाका अध्यक्ष सतिश कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अस्मिता रिजालले गरेकी थिइन् । 
 

Back to top