×

वीरगञ्ज, २३ माघ । वीरगञ्जलाई पर्यटकीय स्थल बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको सयुँक्त आयोजनामा सम्पन्न पर्यटन प्रबद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वीरगञ्जमा थुप्रै पर्यटकीय सम्भावना भएको औँल्याएका छन् । 

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नतर्फ महानगर अग्रसर रहेको बताए । महानगरले वीरगञ्जलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने काम गरीरहेको बताउँदै उनले भारतीय पर्यटक भित्र्याउने गरी महानगरले काम गरिरहेको बताए । ‘वीरगञ्जमा धेरै आउने भनेको भारतीय पर्यटक नै हो, यहाँका पर्यटन व्यवसायी पनि भारतीय पर्यटकको पर्खाइमै रहेका हुन्छन’, उनले थपे, ‘त्यसैले हामीले पनि भारतीय पर्यटक बढी भित्रिउन भनेर निर्वाचित भएर आएसँगै भारतीय सवारीसँग लिने गरिएको सवारी कर हटाइदियौँ ।’

भारतीय सवारीसँग लिने गरिएको कर हटाउँदा महानगरको वार्षिक ६ करोड आम्दानी गुमेको भएपनि भारतीय पर्यटकको आगमनले पर्यटनसँग आश्रित व्यवसायी र परिवारको घर चल्न ठूलो मद्दत मिलेको मेयर सिंहको भनाई छ । 

महानगरले माइस्थान मन्दिर सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको मार्ग खुलाउन खोजेको भन्दै उनले १ सय ५० वर्ष भन्दा बढी पुरानो नृसिंह पिपरा मठको पुननिर्माणमा आफूहरु लागि परेको बताए ।  आउँदो चैत सम्ममा वीरगञ्जको मुहार फेर्ने गरी काम गरिरहेको दावी गर्दै मेयर सिंहले महानगरको काममा साथ दिन नगरबासीमा अपिल पनि गरेका छन् । सबैले आफ्नो ठाउँबाट काम गरे मात्रै वीरगञ्जलाई आर्थिक नगरीसँगै पर्यटकीय नगरीको रुपमा विकास गर्न सकिनेमा उनको जोड थियो । 

पर्यटक  प्रहरी भृकुटीमण्डपका पर्यटक प्रहरी निरीक्षक  चन्द्र किशोर साहले नेपालका  प्रमुख पर्यटकीय स्थलहरु, सम्भाबित पर्यटकीय स्थलहरु, मधेशका पर्यटकीय सम्भावनाहरुको बिषयमा प्रकाश पारेका थिए ।   उनले  नेपालमा आउने पर्यटकहरुको आनिबानी, उनिहरुको सकारात्मक र नकारात्मक पक्षहरुको बिषयमा तयार गरिएको श्रब्य  दृश्य सामाग्री, डकुमेन्ट्री पनि प्रदर्शन गरेका थिए । 

होटल तथा पर्यटन व्यवसायी संघ  वीरगञ्जका अध्यक्ष हरि पन्तले भारतीय  पर्यटकहरुसंग सम्मानजनक  व्यवहार गर्नुपर्ने बताए । वीरगञ्जका अधिकांश पर्यटकहरु भारतिय नै  हुने गरेकोले  भारतीय पर्यटकहरुसँग होटल व्यवसायी,  सरकारी निकाय लगायतका क्षेत्रबाट दुव्र्यवहार हुन नहुने पन्तको भनाई छ । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, पर्यटन संयोजक अनुज रुङ्गटा लगायत ठूला तथा साना होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
 

Back to top