×

काठमाडौं । ‘उध्रेको चोली छ है, त्यै पनि लाइन्छ….।’

यो गीतले नारीको वक्षस्थललाई कामुकता र लाजको विषय बनाएको छ । तर आजका पुस्ताले यसलाई आफ्नो सौन्दर्यको मानक बनाएको छ । आंशिक खुला वक्षस्थललाई आकर्षण र विद्रोहसँग जोडेर व्याख्या गरिरहेका छन् ।

‘क्लिभेज’ अहिलेका युवतीहरुले अनुशरण गरिरहेको यस्तो शैली हो, जसमा उनीहरु लज्जावोध होइन गर्व गर्न चाहन्छन् । जस्तो अभिनेत्री सुहाना थापा । ‘अहिलेको युगमा हामी जसरी खुला र उदार हुँदै गइरहेका छौं यसको प्रभाव पहिरनमा पनि देखिएको हो’ सुहाना यसै भन्छिन् । उनका अनुसार कुनै महिलाले क्लिभेज देखाउने इच्छा गर्छन् भने यो नितान्त उनको अधिकारको कुरा हो । यसमा कसैलाई आपत्ति जनाउने हक छैन ।

पितृसत्तात्मक आँखाले हेर्दा मात्र यो उत्ताउलो देखिने उनको तर्क छ । सुहाना भन्छिन्, ‘हाम्रो जस्तो पितृसत्तात्मक सोच भएको समाजमा क्लिभेज विरोधाभास हुन सक्छ । तर सामान्य र स्वभाविक कुरा हो ।’

पछिल्लो छिमलका सेलिब्रिटीहरु क्लिभेज देखिने पहिरनमा ठाँटिन बढी रुचाउँछन् । यसलाई कतिले फेसनको रुपमा लिन्छन् भने कतिले विद्रोहको पनि । तर यो प्रचलनको थालनी आज भएको होइन । सदियौंअघि रानी-महारानीहरुले यस्तो पहिरन शैलीलाई प्रमुखताका साथ अनुशरण गरेका इतिहास छ ।

हजारौं वर्षअघिको कलात्मक चित्र, कलाकृतिमा क्लिभेज देखिने पहिरन शैली पाइन्छन् । यद्यपि सन् १९५० पछि पश्चिमी फेसनमा क्लिभेज एकदमै लोकप्रिय भयो । अन्ततः यो एउटा फेसन संस्कृतिकै रुपमा विकास भयो ।

अहिलेको पुस्ताले क्लिभेजलाई आफ्नो सौन्दर्यसँग जोडेर हेर्न थालेका छन् । उनीहरुको तर्क छ, ‘हामी यही शरीर लिएर जन्मिएका हौं र स्तन हाम्रो अभिन्न अंग हो । यसमा हामीले गर्व गर्नुपर्छ । यसलाई कति लुकाउने वा देखाउने भन्ने कुरा हाम्रो मर्जी हो ।’

अभिनेत्री ऋचा शर्माको बुझाइमा हाम्रो समाजले नारी अस्तित्वलाई अझै पनि राम्ररी स्वीकार गरिसकेको छैन । त्यसैले नारी अंगलाई आकर्षणभन्दा कामुकतासँग जोडेर हेर्ने गरेको उनी बताउँछिन् ।

महिलाले क्लिभेज देखिने पहिरन लगाउनु कुनै नौलो र आश्चर्य मान्ने कुरा होइन । ‘तर हाम्रो समाजले क्लिभेज जस्तो साना कुरालाई पनि लाज र यौनसँग जोड्छ,’ उनी भन्छिन्, ‘क्लिभेज देखिंदैमा छाडा, उत्ताउलो भन्नु पर्दैन यो एकदमै सामान्य कुरा हो । यो प्राकृतिक र नारी सौन्दर्यको हिस्सा हो ।’

क्वील शब्दको अर्थ हुन्छ, फाटो । अलग-अलग स्थानमा क्लिभेज शब्दको अलग अर्थ हुन्छ । जस्तो कि महिलाको दुवै वक्षस्थलको बीचको भागलाई क्लिभेज भनिन्छ ।

एकातिर आधुनिक महिलाहरु क्लिभेज देखाउनुमा गर्ववोध गरिरहेका छन् भने अर्कोतिर पितृसत्तात्मक समाजले यसमा कर्के नजर लगाउने गरेको छ । क्लिभेज देखिने पहिरन लगाउँदा उनीहरुमाथि अनेक टिकाटिप्पणी हुन्छ । ‘आफ्नै अंग, आफ्नै मर्जी’ भने पनि महिलाले यस्तो शैली अपनाउँदा हरेक पटक जवाफ दिनुपर्ने बाध्यता छ ।

बलिउडकै कुरा गरौं । बलिउड अभिनेत्रीहरु अहिले क्लिभेज देखिने पहिरनमा ठाँटिएको देखिन्छन् । यद्यपि यसमा उनीहरुले अनेक झमेलाको सामना गर्नु नपरेको भने छैन ।

टाइम्स अफ इन्डियाले अभिनेत्री दीपिका पादुकोणको एउटा फोटो साझेदार गर्दै उनको क्लिभेजको बारेमा ट्वीट गरको थियो । उक्त ट्वीट यस्तो थियो, ‘ओह माइ गड : दीपिका पादुकोणको क्लिभेज शो ।’

आफ्नो क्लिभेज तस्वीरमाथि टिप्पणी गरेपछि अभिनेत्री दीपिका पादुकोणले ट्वीटरमा यस्तो जवाफ फर्काएकी थिइन्, ‘हो म महिला हुँ । मेरो ब्रेस्ट छ । मेलो क्लिभेज तिम्रो लागि किन आपत्ति ?’ उनले लगत्तै अर्को ट्वीटमा लेखेकी थिइन्, ‘तपाईं महिलाको इज्जत गर्न जान्नुहुन्न भने महिला सशक्तीकरणको कुरा पनि नगर्नुहोस् ।’

यो तर्क-वितर्क सामाजिक सञ्जालमा निकै चर्को बनेको थियो ।

‘यसले कुनै महिलालाई खुसी, सन्तुष्टि र आत्मविश्वास दिलाउँछ भने अरुले त्यसमा किन टाउको दुखाउनु ?’ अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘यसमा महिलाले आफ्नो पहिरन शैली बदल्ने होइन, बरु समाजको दृष्टिकोण बदल्नु जरुरी छ ।’

अनलाइन खबरबाट साभार । 

Back to top