मधेश प्रदेश देशको दक्षिणी सिमानामा अवस्थित सम्भावनाले भरिएको प्रदेश हो । मुख्य रूपमा कृषि, उद्योग र पर्यटन यो प्रदेशका सम्भावना हुन् । सम्भावनाका आयाम तुलनात्मक बढी भएर पनि समृद्धिका हिसाबले मधेश अन्य प्रदेशभन्दा किन पछि परेको छ ? बहुआयामिक गरीबी, साक्षरता, कुल गार्हस्थ्य उत्पादनको वृद्धि र अर्थतन्त्रमा यसको योगदानमा मधेश पिछडिएको छ, किन ? सम्भावनै सम्भावनाको बीचमा रहेर पनि यसको सही परिचालन हुन नसक्दा मधेश बत्तीमुनिको अँध्यारो बनेको हो ।
मधेशका आठै जिल्लाको सिमाना भारतसित खुला रूपमा जोडिएकाले भारतीय लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई भारतीय बजारसम्म लैजान सहज हुन्छ । यो सम्भाव्यताको उपयोगमा अस्वाभाविक उदासीनता छ ।
कृषियोग्य भूमिको प्रचुरता यो प्रदेशका मुख्य सामथ्र्य हो । मधेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषिक्षेत्रकै छ । देशको अर्थतन्त्रमा कृषिको औसत योगदान २४ प्रतिशत हुँदा मधेशमा यसको आँकडा ३४ प्रतिशतभन्दा बढी रहेको तथ्यांकमात्र पनि यो प्रदेशको समृद्धिको मुख्य आधार नै कृषि हुन सक्ने देखिन्छ । तर, अहिलेसम्म पनि कृषिको सम्भावनालाई आर्थिक रूपान्तरणको औजार बनाउनेमा स्पष्ट नीतिको कमी सबैले महसूस गरेको विषय हो ।
कृषि अर्थतन्त्र सबलीकरणको मूल आधार बन्न सक्ने भए पनि अहिलेसम्म पनि कृषि निर्वाहमुखी पनि बन्न सकेको छैन । आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहँदा आज कृषिप्रधान अर्थतन्त्रको देशका हामी आयातित खाद्यान्नको भरमा चलेका छौं । आज पनि हामी कम्तीमा आधारभूत खाद्यान्नमा कसरी आत्मनिर्भर हुन सकिएला भन्ने ताकमा छौं भने हामीले अहिलेसम्म अर्थतन्त्रको कस्तो आधार निर्माण गर्न सकेका रहेछौं भनेर सहजै अनुमान गर्न सकिन्छ ।
यातायात तथा औद्योगिक पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता, श्रमको उपलब्धता र वैदेशिक व्यापारका लागि प्रमुख नाकासमेत भएको कारणले मधेश प्रदेशमा कृषिका साथै औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको नेपाल राष्ट्र बैंकको एउटा अध्ययनले उल्लेख गरेको छ । यो प्रदेश भारतीय सीमासँग जोडिएकाले उत्पादनशील उद्योग तथा कलकारखानाहरू स्थापना गरी उत्पादित वस्तु भारततर्फ निकासी गर्नसमेत तुलनात्मक रूपले निकै सहज रहेको पनि उल्लेख गरिएको छ । मधेशको समथल भूबनोट यसको समृद्धिको अर्को आधार हो । मधेशमा सडक पूर्वाधारको निर्माण पहाडी क्षेत्रको तुलनामा सहज छ । सहज र छरितो आवागमन मधेशको सम्भावना उपयोगको बलियो आधार हो ।
मधेश भूगोलमा सानो भएर पनि जनसंख्यामा सबैभन्दा अगाडि भएकाले जनशक्ति यहाँको मुख्य स्रोत हो । सबैभन्दा बढी युवा शक्तिलाई वैदेशिक रोजगारीमा पठाउने प्रदेश पनि यही भएकाले यहाँको युवा जनशक्तिलाई समृद्धिमा जोड्न सकिन्छ, तर कसरी ? यसमा योजनाको खाँचो छ । यहाँको कृषि, उत्पादन र सेवाक्षेत्रमा युवा जनशक्तिलाई जोड्न सकियो भने त्यो आर्थिक समृद्धिको आधार बन्न नसक्ने कारण छैन । आज कुनै पनि क्षेत्रले दक्ष जनशक्तिको अभावको समस्या झेलिरहेको छ । यस्तो अवस्थामा मधेशले दक्ष जनशक्ति निर्माणका रणनीतिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा विलम्ब गर्ने बेला छैन । यसले प्रदेशका लागि जनशक्तिको आपूर्तिमात्र नभएर जनसांख्यिक अवसरको उपयोगमा पनि बहुआयामिक लाभ दिन सक्छ ।
आयातनिर्यातका सन्दर्भमा देशको मुख्य नाका र औद्योगिक कोरिडोर वीरगञ्ज यही प्रदेशमा छ । तर, राजनीतिक कारणले नै यो नाकाको ओज कमजोर भइरहेको तथ्य पनि कटु यथार्थका रूपमा रहेको छ । वीरगञ्ज नाकाको आयातनिर्यातको आँकडा पछिल्ला केही वर्षयता तुलनात्मक रूपमा घट्दै गएको तथ्यांकले देखाउँछ । वैदेशिक व्यापार बढिरहँदा यो नाकाबाट हुने व्यापारको ग्राफमा सकारात्मक परिवर्तन नदेखिनु भनेको सम्भावनाको उपयोगमा कमी नै हो ।
मुख्य नाका, भारतसित खुला सिमाना र आवागमन सहज भएर पनि वीरगञ्ज औद्योगिक कोरिडोरमा र समग्र प्रदेशमै औद्योगिक प्रतिष्ठानहरूको संख्या र औद्योगिक लगानी अपेक्षित कम हुनुलाई चुनौती मान्नुपर्ने हुन्छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको सबैभन्दा कम योगदान ११ दशमलव ९ प्रतिशत रहेको देखिन्छ ।
भारत नेपालको वैदेशिक व्यापारको मुख्य साझेदारमात्र होइन, नेपालका उत्पादनका लागि मुख्य बजारको सम्भावना पनि हो । मधेशका आठै जिल्लाको सिमानामा भारतसित खुला रूपमा जोडिएकाले भारतीय लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई भारतीय बजारसम्म लैजान सहज हुन्छ । यो सम्भाव्यताको उपयोगमा अस्वाभाविक उदासीनता छ । सरकारी आँकडाले नै कुल औद्योगिक लगानी र कुल गार्हस्थ्य उत्पादनमा उत्पादन क्षेत्रको लगानीका हिसाबले अन्य प्रदेश अगाडि रहेको देखाएका छन् । यसबाट यो प्रदेशमा औद्योगिक सम्भावनाको दोहनमा हुन सक्नेजति काम हुन नसकेको स्पष्ट हुन्छ ।
मधेशको जीडीपीमा सेवाक्षेत्रको योगदान सबैभन्दा बढी देखिएको समाचार आर्थिक अभियान दैनिकले प्रकाशित गरेको थियो । मधेशको जीडीपीमा सेवा क्षेत्रको योगदान ५३ दशमलव ६ प्रतिशत रहेको तथ्यांक छ । ५ खर्ब ४४ अर्ब ८१ करोड रुपैयाँ जीडीपीमा यो योगदान देखिएको छ । मधेश प्रदेशमा विभिन्न धार्मिक मठमन्दिर रहेका कारण धेरै संख्यामा स्वदेशी तथा भारतीय पर्यटकको आवागमन हुन सक्छ । प्रसिद्ध जानकी मन्दिर र गढीमाई मन्दिरलगायत स्थान पर्यटकीय आकर्षणको केन्द्र हुन सक्छन् ।
प्रदेशमा धार्मिक र सांस्कृतिक पर्यटनको राम्रो सम्भावना रहेको छ । पोखरापछि धेरै ताल तथा पोखरीहरू रहेको जनकपुरधाम जस्ता शहरको सम्भावनालाई समृद्धिसँग जोड्न रणनीतिक योजना नै चाहिन्छ । सडक पूर्वाधार सुधार र गुणस्तरीय होटेल तथा रेस्टुराँको स्थापना गर्न नसकिने होइन । आन्तरिकसँगै भारतीय राज्य विहारबाट पर्यटक आकर्षण गरी पर्यटन विकास तथा आर्थिक गतिविधि बढाउन सकिन्छ । मधेशको पर्यटन भारतीय मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्ने सम्भावना छ ।
प्रदेश राजधानी जनकपुरको धार्मिक र सांस्कृतिक पक्ष तथा नेपालमा रहेको एकमात्र जनकपुर जयनगर रेलवेको सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल प्रवेश गराउने मुख्य नाकाका रूपमा विकास गर्न सकिन्छ । जनकपुर र भारतको अयोध्याको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई एकआपसमा आबद्ध गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न पनि सम्भव छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणका आएका बेला घोषणा भएको यो योजनामा भइरहेको विलम्बलाई निकास दिनु यो उद्देश्यमा महत्त्वपूर्ण उपलब्धि सावित हुनेछ ।
केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकजस्ता निकायले गरेका अध्ययनहरूले पनि मधेशलाई सम्भावनायुक्त प्रदेशका रूपमा चित्रित गरेको देखिन्छ । भौगोलिक रूपमा समथल भूभागमा अवस्थित रहनु र कृषि, उद्योग र पर्यटन तीनै प्रकारका सम्भाव्यतालाई समेटेर रहनु प्रदेशको मुख्य सामथ्र्य हो । देशको मध्यभागमा रहनु र प्रदेशका आठै जिल्लाको सिमाना भारतसित जोडिएर रहनु पनि मधेश प्रदेशका लागि आर्थिक सम्भावना दोहनका आधार हुन् । तर, तिनको दोहन कसरी गर्ने ? यसको स्पष्ट योजनाको अभाव देखिन्छ । मधेश प्रदेश आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध प्रदेशको रूपमा स्थापित हुन सक्ने प्रदेश हो भन्नेमा विवाद नरहे पनि यसलाई कसरी उपयोग गर्ने भन्ने सवालमा रणनीतिक योजनाको अभाव देखिन्छ । आर्थिक अभियानबाट
ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।