×

वीरगञ्ज, २८ पुष ।  राष्ट्रिय परिचय पत्र बनाउन ढिलाई हुँदा वीरगञ्ज १६ का युगेश्वर शर्मालाई राहदानी बनाउन ७ महिना लाग्यो । वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका युगेश्वरलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउनुपर्ने भएपछि ढिलाई भयो । 

राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भिडभाड एक्कासी बढ्दा लगातार एक हप्तासम्म प्रशासन धाउँदा पनि पालो नपाएपछि भिडभाड कम भएको बेला बनाउने सोचेर उनले केही समय सिडिओ कार्यालय धाउन छोडे । २ महिनापछि बल्ल राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिएका उनले ५ महिनापछि परिचय पत्र प्राप्त गरे । राष्ट्रिय परिचय पत्र बनीसकेपछि भने उनले राहदानीका लागि धेरै दुःख पाउनै परेन । ‘राष्ट्रिय परिचय पत्र बनाउन केही गाह्रो भएपनि पासपोर्ट बनाउन भने खासै गाह्रो भएन, आधा घण्टामै काम बन्यो’, उनले सुनाए ।
 
पर्साको ठोरी गाउँपालिकाका गगन सुनारका अनुसार अहिले प्रशासनमा पहिला जस्तो झन्झट छैन । तर कहिलेकाँही विद्युत प्रवाह नहुँदा र इन्टरनेट नचल्दा सेवाग्राहीले सास्ती खेप्नुपर्ने समस्या भने अझै पनि यथावत रहेको गगनको भनाई छ । आफ्ना भाईको नागरिकता बनाउनका लागि ठोरीबाट बिहान कार्यालय नखुल्दै  वीरगञ्ज आइपुगेका उनले इन्टरनेट र सर्भरको समस्याका कारण सास्ती खेप्नुप¥यो । बिहान साढे ९ बजे नै ठोरीबाट वीरगञ्जसम्मको  लगभग ६० किलोमिटर दुरी पार गरेर जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका उनको काम साँझ साढे ४ बजे भयो । 

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ निवासी ईन्ताफ आलम पनि नागरिकता बनाउन ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय पर्सा धाइरहेका छन् । आलमको जन्मदर्तामा हजुर बुबाको नाम खलिल मिया तेली छ भने हजुर बुबाको नागरिकतामा खलिल मिया मात्रै छ । जसले गर्दा उनले झन्झट बेहोर्नु परीरहेको छ । फेरी वडा कार्यालयमा गएर सिफारिस बनाई ल्याएपछि मात्रै उनको नागरिकता बन्ने प्रशासनका कर्मचारीले बताएपछि उनी तेस्रो दिन पनि नागरिकता नबनाई घर फर्किए । फेरी अर्काे दिन वडा बाट नाम सच्याइएको सिफारिस ल्याएर सिडिओ कार्यालय पुगेका आलमको त्यो दिन बडो मुश्किलले नागरिकता बन्यो । 

अधिकृत बस्नै मान्दैनन् : सहायक सिडिओ
जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता वितरण, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, राहदानी, मुद्धा, ठाडो उजुरी लगायतका प्रशासनिक सेवाहरु प्रवाह हुन्छन् । अधिकृत तहका ४ जनाको दरबन्दी भएपनि ३ जना मात्रै रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार यहाँ अधिकृत तहका कर्मचारीहरु बस्न रुचाउँदैनन् । खरिदार र सुब्बा सरहका कर्मचारीको अभाव भने छैन । ११ वटा शाखामा गरेर हाल यहाँ प्रमुख जिल्ला अधिकारीदेखि कार्यालय सहयोगीसम्म ४२ जना कर्मचारी कार्यरत छन् । 

अनियन्त्रीत ईन्टरनेट र सर्भरको समस्या
पछिल्लो समय हरेक काम प्रविधिमैत्री हुँदै गएका छन् । अभिलेखीकरण र तथ्यांकको दीगो व्यवस्थापनका लागि हरेक कार्यालयमा पनि प्रविधिको प्रयोग बढ्दो छ । यसर्थ जिल्ला प्रशासन कार्यालय पर्सामा पनि सेवालाई छिटो र छरितो बनाउन प्रविधिमैेत्री बनाइँदै लगिएको छ । ईपासपोर्ट, नयाँ नागरिकता लगायत अन्य कामहरुको लागि अनलाईन अर्थात सफ्टवैयरमार्फत काम गर्नुपर्ने हुन्छ ।

तर कहिलेकाँही सर्भर डाउन हुँदा र ईन्टरनेट नचल्दा कर्मचारी र सेवाग्राहीसँग सर्भर र ईन्टरनेट नचल्दासम्म कुर्नुको विकल्प हुँदैन । यसलाई अनियन्त्रीत समस्याको संज्ञा दिन्छन् सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल । उनले भने, ‘अब ईन्टरनेट र सर्भर हाम्रो नियन्त्रणमा हुँदैन । तर पनि हामी सेवालाई चुस्त र छिटो छरितोसँगै प्रभावकारी बनाउनेमा जोड दिइरहेका छौँ ।’

पालिकाबाटै परिचय पत्र 
राष्ट्रिय परिचय पत्र सबैले अनिवार्य बनाउनुपर्ने व्यवस्था आएसँगै साइबरवालाहरुले राम्रै कमाई गरे । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडीका फोटो स्टुडियोसँगै अन्य साइबर सेन्टरहरुमा फारम भराउनेहरुको भिड हुन्थ्यो । फारम भरेबापत १ सय रुपैयाँदेखि ५ सय हुँदै कसैले १ हजार रुपैयाँसम्म माग्ने गरेको गुनासो पनि सेवाग्राहीले गरे ।

अनधिकृत रुपमा रकम असुलेर फारम भर्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडाई गर्दै ६ जना साइबरवालालाई कारवाही गरी केही दिनका लागि थुनामासमेत राखेपछि यस्तो प्रवृति रोकियो । पछि जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालय समयभन्दा अगावै फारम भर्नका लागि कर्मचारीको पनि व्यवस्थापन ग¥यो । यति मात्रै नभएर अहिले त हरेक पालिकामै फारम भर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय पञ्जिकरण विभागले नै पालिकामा कर्मचारी परिचालन गरेर कम्प्युटर अप्रेटरहरुलाई तालिम दिएर पालिकाबाटै फारम भराउने व्यवस्था मिलाइयो । जसले गर्दा अहिले जिल्ला प्रशासनमा परिचय पत्रका लागि आउनेको संख्या अत्यन्तै न्यून भएको त्याहाँका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्तवले बताए । 

नयाँ भवनले सेवा चुस्त हुने विश्वास 
जिल्ल प्रशासन कार्यालय पर्साको कोठा नम्बर १०, १४, १५ मा सेवाग्राहीको चाप अरु कोठाको तुलनामा धेरै हुन्छ । वैवाहिक अग्रिकृत, संशोधन÷पतिको नाम थर कायम र राहदानी शाखामा सेवाग्राहीको चाप बढी देखिन्छ । प्राय सबै शाखा अव्यवस्थित छन् । कुर्सी र टेबलको भरमा काम भइरहेको छ ।

कागजात व्यवस्थित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल स्विकार गर्छन् । पौडेलले भने, ‘कागजपत्रहरु जथाभावि छन्, पहिलैदेखि व्यवस्थित गर्नेतर्फ कसैको ध्यान गएन, पूर्वाधार पनि पुराना भए, जसले गर्दा खोेजेको कुरा समयमै भेटिन पनि गाह्रो हुन्छ ।’ तर अब लगभग अन्तिम चरणमा रहेको जिल्ला प्रशासनको नयाँ भवनले सेवा चुस्त हुनुका साथै व्यवस्थित हुने सहायक प्रजीअ पौडेलको विश्वास छ । 

Back to top