×

वीरगञ्ज, २० पुष । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी ४५ वर्षीय बिशाल महतो (नाम परिवर्तीत) लाई विगत केही वर्षदेखि शरिरका अंगहरु बढ्दै गएको महसुस भयो । उनका हात, खुट्टा, नाक, मुख लगायतका अंगहरु अचानक बढ्दै गएपछि उनले असहजताको आभाष गरे । 

चेकजाँच गर्न उनले वीरगञ्जका विभिन्न अस्पतालदेखि क्लिनिकहरु बाँकी राखेनन् । तर पनि हरेस खाएर घरमै बसेका बिशाललाई उनकै एक जना साथिले बरिष्ठ न्यूरो सर्जन डा. सफरोज अंसारीसँग चेकजाँच गराउन सुझाव दिए । साथिको सुझाव पछि बिशालमा ठीक हुने आशा पलायो । 

त्यही आशा लिएर नेशनल मेडिकल कलेजमा पुगेका उनले बरिष्ठ न्यूरो सर्जन डा. सफरोज अंसारीसँग चेकजाँच गराए । डा. अंसारीका अनुसार चेकजाँचका क्रममा उनको मधुमेह अनियन्त्रीत अवस्थामा थियो भने हात, खुट्टा, मुख, नाक लगायतका अंगहरु फूल्ने आँखा कम देखिने समस्याहरु देखिए । डा. अंसारीले उनलाई ब्रेन ट्युमर भएको आशंका गरे । एमआरआई परीक्षण गर्दा डा. अंसारीको आशंका यथार्थमा बदलीयो । 

पिट्युटरी ग्रन्थीको ट्युमर देखिएपछि तत्काल सर्जरी गर्नुपर्ने डा.अन्सारीले ऊनलाई सुल्झाए । डा. अंसारीकै नेतृत्वमा कन्सलटेन्ट डा. मसुद काजी र डा. आदित्य प्रकाश यादवसहित एनेस्थेसिया लगायतको टिमले उनको सफल शल्यक्रिया ग-यो।

यस्तो किसिमको शल्यक्रिया सम्भवत : मधेश प्रदेशमै पहिलो पटक भएको डा. अंसारीको  दावी छ । यो शल्यक्रिया वीरगञ्ज बाहिर गएर गर्दा कम्तिमा पनि ५ देखि १० लाख खर्च हुने भएपनि यहाँ अत्यन्तै न्युनतम शूल्कमा शल्यक्रिया गरिएको उनले जानकारी दिए । 

माइक्रोस्कोपमार्फत ओपन सर्जरी गरेको केही समयमै बिशालले आफूलाई परिवर्तीत अवस्थामा पाए । उनको मधुमेह नियन्त्रणमा थियो भने शारिरीक अंगहरुको बृद्धि पनि रोकियो । असामान्य रुपमा हात, खुट्टा, मुख, नाक ठूलो हुने, मधुमेह अनियन्त्रीत हुने देखि आँखा कम देखिने जस्ता समस्याहरु देखिएको भए ट्युमर भएको हुन सक्ने भन्दै डा. अंसारीले समयमै चेकजाँच गराउन पनि आग्रह गरेका छन् । 
 

Back to top