×

वीरगञ्ज, २६ मंसिर ।  जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशमा समानुपातिकमा पाएको सिटभन्दा धेरैको नाम सिफारिस गरेपछि पार्टीभित्र भाँडभैलो भएको छ ।

जसपाले मधेस प्रदेशमा समानुपातिकतर्फ ७ सिट जितेको छ । तर, पार्टीभित्र नाममा सहमति हुन नसकेपछि जसपाले १० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो । जसपाको मधेस प्रदेशमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी कुल १६ सिट छ । समानुपातिकमा पाएको ७ सिटमध्ये ६ जना महिला र एक पुरुषको नाम सिफारिस गर्नुपर्ने हो । तर, जसपाले ७ महिला र ३ पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

जसपाले अल्पसंख्यकबाट मनिष सुमन, मुस्लिमबाट युसुफ अली र दलितबाट चन्देश्वर सदाको नाम सिफारिस गरेको छ । त्यसैरी, महिलातर्फ विन्दुकुमारी यादव, किरण कुमारी साह, शोभा देवी, सञ्जिला कुमारी यादव, ललिता दास, सैदा खातुन र ममता मण्डलको नाम सिफारिस गरेको छ ।

सात जनाको नाम सिफारिस गर्नु पर्नेमा १० जनाको नाम सिफारिस गरिएपछि जसपाभित्र भाँडभैलो भएको हो । जसपाका प्रवक्ता मनिष सुमनले पार्र्टीभित्र आकांक्षी बढी भएकाले कोटाभन्दा बढीको नाम सिफारिस भएको बताए ।

शिलापत्रसँग कुराकानी गर्दै प्रवक्ता सुमनले भने, ‘समानुपातिक कोटामा सांसद बन्ने पार्टीभित्र ४२ जना अकांक्षी थिए । त्यसमध्ये १० जनाको नाम हामीले निर्वाचन आयोगमा पठायौं । अब आज पुनः छलफल गरेर फेरि ७ जनाको नाम मात्रै पठाउने तयारी भइरहेको छ ।’

समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउन बिहान ११ बजे बैठक बोलाइएको उनले बताए । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको नाम सच्याउन निर्वाचन आयोगले आज अपराह्न ४ बजेसम्मको समयसीमा दलहरुलाई दिएको छ । शिलापत्रमा खबर छ।
 

Back to top