×

वीरगञ्ज, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । 

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलबार साँझसम्म ९८ लाख २१ हजार ५६१ मत गणना सम्पन्न भएको छ ।  

निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ५१ हजार ६ सय ७२ मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २५ लाख हजार ७ सय १४ मत पाएको छ । 

नेकपा (माओवादी केन्द्र) ले ११ लाख ३१ हजार ९ सय ८६, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८६ हजार ८ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६१ हजार ७ सय १६, जनता समाजवादी पार्टी नेपालले ३ लाख ८२ हजार ५ सय ५४, जनमत पार्टीले ३ लाख ४२ हजार ८८, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ७८ हजार २ सय ९९ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार १ सय ६८ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

यस निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको छ । 

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा ३ लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अहिलेसम्म ९८ लाख ५६ हजार १ सय ९४ मत गणना हुँदा ७ दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट ३ प्रतिशतभन्दा बढी मत कटाएका छन् । 

पछिल्लो मतगणनाको तथ्याङ्कको आधारमा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ७८ हजार २ सय ९९ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।  

२०७४ मा ५ राष्ट्रिय दल

विसं २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा ५ दलले निर्वाचन ऐनले तोकेको थ्रेसहोल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका थिए । 

उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१, राजपा नेपालले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २ सय १ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।

Back to top