×

वीरगञ्ज, ९ मंसिर ।  औद्योगिक पूर्वाधार निर्माण र लगानीमा वृद्धिबिना समृद्धिको कल्पना गर्न नसकिने सरोकारवालाले निष्कर्ष निकालेका छन् । आठौँ उद्योग दिवसको अवसरमा वीरगञ्जमा आयोजित “औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार” विषय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । 
 
औद्योगिक लगानीले नै देश समृद्ध बन्नुका साथै आत्मनिर्भर बन्न सकिने हुँदा औद्योगिक पूर्वाधार निर्माण र लगानीमा वृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले औद्योगिक वातावरण निर्माणका साथै औद्योगिक शान्ति सुरक्षाको व्यवस्था र उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

उद्योग स्थापनाका लागि आवश्यक सामाजिक संस्कारको विकास हुन नसकेकोमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चिन्ता व्यक्त गरेका छन् । स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको लगानी सुनिश्चित नहुँदासम्म विदेशी लगानी भित्रिने अवस्था नआउने पौडेको भनाई छ । स्वदेशी लगानीको सुनिश्चितता गर्नेतर्फ केन्द्रीत हुन उनले सुझाव दिएका छन् । उद्योग स्थापनाको प्रक्रियामै आउने अनपेक्षित जटिलताहरुलाई सहज बनाउनका लागि उद्योगी व्यवसायीहरुले बृहत छलफल गरी नीति निर्माणमा सहयोग गर्नुपर्ने पौडेलले बताए । 

सरकारी नीति नियम अस्थिर हुँदा उद्योगहरु अपेक्षित रुपमा फस्टाउन नसकेको वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरि गौतमको तर्क छ । उनी भन्छन्, ‘कोभिड १९ को प्रभावबाट विस्तारै लयमा फर्किदै गइरहेका उद्योगहरुलाई नेपाल राष्ट्र बैंकले जारी गरेको नीति, निर्देेशन र परिपत्रका कारण फेरी धरासायी हुने अवस्थामा पुगेका छौँ ।’ उद्योगमैत्री सरकार र उद्योगमैत्री नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

उद्योग सम्बन्धी प्रष्ट नीतिको अभाव, अस्थिर मौद्रिक नीति, उद्योग मैत्री श्रम नीतिको अभाव जस्ता समस्याका कारण लगानीकर्ताहरु उद्योग स्थापनाका लागि चिन्तित हुनुपरेको वक्ताहरुको भनाई छ । उद्योग स्थापनाको लागि नियामक निकायले अनुमति पत्र बाँड्ने काम मात्र नगरी उद्योगहरु दीर्घकालसम्म सञ्चालनको लागि सर्वेक्षण समेत गर्नुपर्ने र उद्योग स्थापनाको लागि अन्तरसरकारी निकायहरुमा समन्वयकारी भूमिकाको विस्तार गर्नुपर्ने आवश्यक्ता वक्ताहरुले औँल्याएका छन् । 

उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले उद्योगीहरुले उठाएका एजेण्डा प्रसंशनीय रहेको बताउँदै ति समस्याको सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् । 

आठौँ उद्योग दिवसकै अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको परिसरमा सङ्घको लोगो अंकित ५ फिट चौडाई र २.५ फिट उचाई भएको झण्डा अनवरत गरिएको छ । उक्त झण्डाले उद्योगी व्यवसायीहरुमा एकता कायम राख्ने सन्देश दिने विश्वास गरिएको छ । 

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत धनंजयकुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

Back to top