×

वीरगञ्ज, ८ मंसिर । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । 

साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

नेकपा एमालेले जसपासँग चुनावी गठबन्धन गरेपछि एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका साहलाई सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको उक्त क्षेत्रमा आफ्नो उमेदवारी निष्कृय पार्न नेकपा माओवादी केन्द्रले रविन्द्र पटेललाई निर्देशन दिएको थियो ।

तर पटेलले आफ्नो उमेदवारी कायमै राखे भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र एकीकृत समाजवादीले अर्का स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाललाई समर्थन गरेका थिए ।

जयसवाललाई नेकपा एमालेलेसमेत समर्थन गरेको थियो । स्वतन्त्र उमेदवार प्रभु साहले त्यस क्षेत्रमा गरेको विकास र जनसेवालाई मूल्यांकन गरे पुन उनलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले विजयी बनाएका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दलको समर्थन पाएका अर्का स्वतन्त्र उमेदवार ओम प्रकास जयसवालले साहसँग फराकिलो मतान्तरमा पराजय भोग्नु परेको छ ।

सवै शक्ति लाग्दा समेत प्रभु साह आफ्नो निर्वाचन क्षेत्रमा बलियो उमेदवारको रुपमा देखिन सफल भएका छन् ।

Back to top