×

वीरगञ्ज, ८ मंसिर । पर्साका ८ प्रदेशसभामध्ये ३ क्षेत्रमा कांग्रेस र २ मा जसपाले जित्दा नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र स्वतन्त्रले १/१ क्षेत्रमा जित निकालेका छन् । पर्साको क्षेत्र नम्बर १ (क) माओवादी केन्द्र, (ख) जसपा, २ (क) नेपाली कांग्रेस, (ख) लोसपा, ३ (क) स्वतन्त्र, (ख) नेपाली कांग्रेस, ४ (क) नेपाली कांग्रेस र (ख) मा जसपाले जितेको हो । 

दुई हार व्यहोरेका रहबरलाई तेस्रो पटकमा सफलता

क्षेत्र नम्बर १ को (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गठबन्धनका उम्मेदवार विचारी प्रसाद यादवलाई पराजित गर्दै रहबर विजयी भएका हुन् । यसअघि दुई पटक चुनाव हारेका रहबरलाई तेस्रो पटकको चुनावमा सफलता मिलेको हो । 

नेकपा एमालेका विचारी प्रसाद यादवभन्दा २ हजार २ सय ९९ मत बढी ल्याएर निर्वाचित भएका छन् । रहबरले ७ हजार ८ सय १७ मत प्राप्त गर्दा विचारीले ५ हजार ५ सय १८ मत प्राप्त गरेका छन् । ५ हजार २ सय ८६ मत ल्याएर स्वतन्त्र उम्मेदवार तथा यस क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य जनता अन्सारी तेस्रो भएका छन् । त्यसैगरी ४ हजार ५४ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार सुधीर पटेल चौथो भएका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबा साझा उम्मेदवार बनेका रहबरले आफ्नो जीवनमा पहिलो पटक निर्वाचन जितेका छन् । रहबर यसअघि २०७४ मा नेकपा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयर र त्यसपछि भएको आम निर्वाचनमा पर्सा १(क) बाट नै प्रदेशसभा सदस्यको निर्वाचन लडेर पराजित भएका थिए  । गत निर्वाचनमा जनतसँग पराजित भएका रहबरले यसपटक उनलाई हराएका हुन् ।

रहबरको जितसँगै पर्सामा नेकपा माओवादी केन्द्रले पहिलो जित हासिल गरेको छ । स्थानीय तहको निर्वाचनमा पर्सामा एउटा वडासमेत नजितेको माओवादी केन्द्रको इज्जत पनि रहबरले जोगाइदिएका छन् ।

विरोध बिच दोहोरिए राउत

पर्साको क्षेत्र नम्बर १ (ख) मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुनः निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनका रामनारायण कुर्मीलाई १ हजार ३ सय ३३ मतान्तरले पराजित गर्दै राउत दोस्रो पटक निर्वाचित भएका हुन् ।

भ्रष्टाचारको आरोप खेपेका एवम् विरोधको वर्षाका बिच पनि ७ हजार ५ सय ४५ मत ल्याएर राउत दोहोरिएका हुन् । कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् । वीरगञ्जले मुख्यमन्त्री पाएपनि कुनै ठोस योजना नपाएको र महत्वपूर्ण बजेट नपाएको अँझ प्रदेशको राजधानी गुमाएको जस्ता विषयहरुमा व्यापक असन्तुष्टी पोख्दै आएका यस क्षेत्रका जनताले उनलाई नै फेरी मत दिँदा एकथरी जनता आश्चर्यचकित छन् भने उनका समर्थक एवम् शुभचिन्तकहरु भने खुशीयाली मनाइरहेका छन् । 

कुर्मी पछाडि २ हजार ८ सय ४१ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय प्रसाद झा तेस्रो स्थानमा रहेका छन् भने हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत ल्याएर चौथो स्थानमा छन् । 

राउत यसअघि पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए । २०७४ को निर्वाचनमा राउतले ९ हजार ८ सय ४ मत प्राप्त गरेर नेपाली कांग्रेसका विजय सर्राफलाई पराजित गरेका थिए ।

पहिलो पटकमै पटेलको जित, जसपा अध्यक्षको दोस्रो हार

पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसले जितेको छ । जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै कांग्रेसका श्यामप्रसाद पटेल निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस पर्साका पूर्व सचिवसमेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय २७ ल्याएका छन् । पटेल कांग्रेस पर्साको जिल्ला सभापतिका प्रत्यासीसमेत हुन् । जसपा पर्साका जिल्ला अध्यक्षसमेत रहेका यादवको यो दोस्रो हार हो । यसअघि २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहसँग १ सय ८० मतले पराजित भएका थिए ।  

स्वतन्त्रको चुनौतीका बिच दोहोरिए कुर्मी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रमेश प्रसाद कुर्मी स्वतन्त्र उम्मेदवारको चुनौतीका बिच दोहोरिएका छन् । लाल्टिन छापबाट उम्मेदवारी दिएका रुपेशमान सिंह श्रेष्ठलाई २ हजार ६ सय ३७ मतले पराजित गर्दै कुर्मी दोस्रो पटक निर्वाचित भएका हुन् । 

कुर्मीले ९ हजार ४ सय ७१ मत प्राप्त गर्दा सिंहले ६ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबा साझा उम्मेदवार रहेका कुर्मी यसअघि पनि पर्सा–२(ख) बाट तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । कुर्मीले यसअघि ९ हजार ७ सय ६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका रामरूप कुर्मीलाई पराजित गरेका थिए । पाँच वर्षको कार्यकालमा आफूले क्षेत्रको विकासका लागि गरेको कामको मूल्यांकन जनताले गरेको कुर्मीको विश्वास छ । 

प्रमोदले गरे दुई गठबन्धनलाई परास्त 

पर्साको क्षेत्र नम्बर ३ (क) मा पाँच दलीय गठबन्धन र नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवारको विजोक देखियो । जसपा र नेकपा एमाले गठबन्धनबाट निवर्तमान प्रदेशसभा सदस्य अब्दुल रहिम (मञ्जुर) अन्सारी र पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छोटेलाल प्रसाद यादव त्याहाँका प्रबल उम्मेदवार भएपनि उनीहरुलाई पछार्दै स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल निर्वाचित भएका छन् । 

निकटम प्रतिद्वन्द्वी अन्सारीलाई १ हजार ४ सय ५१ मतान्तरले पराजित गर्दै काउली चुनाव चिन्हबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार जयसवाल निर्वाचित भएका हुन् । जयसवालले ७ हजार ३ सय ८१ मत ल्याएका छन् भने अन्सारीले ५ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । जयसवाल जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनी पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालका भाई हुन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार चन्द्र किशोर प्रसादले ४ हजार ६ सय ५५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका छोटेलाल प्रसाद यादवले ४ हजार ३ सय ४० मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेस सभापति क्षेत्रीले लिए हारको बदला

पर्साको क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । उनले जसपा र नेकपा एमाले गठबन्धनकी डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतान्तरले पराजित गरेका हुन् । 

क्षेत्री १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी गुप्ताले ७ हजार ४ सय ९६ मत ल्याएकी छिन् । निवर्तमान प्रदेशसभा सदस्य नेकपा एकिकृत समाजवादी पार्टीका प्रह्लाद गिरी गोस्वामीसँग क्षेत्रीले बदला लिएका छन् । 

यसअघि २०७४ सालमा भएको प्रदेशसभाको निर्वाचनमा क्षेत्रीलाई नै ९५ मतले पराजित गर्दै गिरी बिजयी भएका थिए । अहिले भने गिरी तेस्रो स्थानमा झरेका छन् । 

चौधरीको लगातार दोस्रो जित 

क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी पुनः दोहोरिएका छन् । उनले नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुलाई लगातार दोस्रो पटक हराएका छन् । २०७४ को प्रदेशसभाको निर्वाचनमा पनि चौधरीले थारुलाई ४ सय ४८ मतले पराजित गरेका थिए । 

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले संविधानसभा सदस्यसमेत रहेका थारुलाई १ हजार ७ सय १६ मतले पराजित गरेका हुन् । चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर निर्वाचित हुँदा थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

एमालेको असहयोग वावजुद दोहोरिए कलवार

पर्सा क्षेत्र नम्बर ४ (ख) मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सिंगासन साह कलवार पुन: दोहोरिएर निर्वाचित भएका छन् । कलवारले स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानुलाई २ हजार ७४४ मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार रहेका कलवारले १५ हजार ३८५ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी साहले १२ हजार ६४१ मत ल्याएका छन् । त्यस्तै पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शेख चांद तारा कुमारीले १ हजार ७६५ मत मात्र ल्याएकी छन् ।

गठबन्धन गरेपनि कलवारले एमालेको सहयोग भने पाएनन । नेकपा एमालेका जिल्ला सचिव मनोज कुमार गुप्तालेनै उनलाई सहयोग गर्न आफ्ना हजुरबुवालाई उम्मेदवार बनाए । क्षेत्रमा उपविजेता भएका प्रह्लाद कानु गुप्ताका हजुरबुवा हुन् । कलवारलाई हराउन छिपहरमाई गाउँपालिकाको अध्यक्षसमेत रहेका गुप्ताले यस्तो गरेको स्थानीयहरुको आरोप छ । यद्दपी, एमालेको असहयोग वावजुद कलवारले फराकिलो मतान्तरका साथ विजय हासिल गरेका छन् ।

Back to top