×

वीरगञ्ज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि जारी मतगणना अन्तिम चरणमा पुगेको छ । सोमबार दिउँसोदेखि जारी मतगणना आज साँझसम्म सम्पन्न हुने अनुमान गरिएको छ ।

मतगणनाको हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेसका अजयकुमार चौरसिया फराकिलो मतान्तरका साथ अग्रता लिरहेका छन् । 

चौरसियाले हालसम्म २४ हजार ९७२ मत प्रात्प गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्र प्रसाद कुर्मीले १९ हजार ४५० मत पाएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका चौरसिया अहिले पाँच हजारभन्दा पनि बढीको मतान्तरले अगाडि रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । फराकिलो मतान्तरका साथ अगाडि रहेका चौरसियाको जित लगभग सुनिस्चित भएको छ । कुर्मीले उनलाई पछ्याएपनि पाँच हजार मतको अग्रतालाई तोड्नु अब सम्भव देखिँदैन ।
 
कुर्मीका स्मार्थकहरुले पनि यो कुरा बुझिसकेका छन् । त्यसैले जसपाका कार्यकर्ताहरु पनि मतगणना स्थलबाट उठेर हिडेका छन् । वीरगञ्जको ठाकुरराम क्याम्पसस मतगणना स्थल बाहिर जसपाका समर्थकहरुले लगाएको पण्डालमा अहिले कोहि पनि छैन । पण्डाल खाली रहेको देखेपछि नेपाली कांग्रेसका समर्थकहरुले त्यहाँ पार्टीको झण्डा लिएर आफ्नो कब्जा जमाएका छन् ।

कांग्रेस नेता राहुल यादवले सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै जसपाको पण्डालमा नेपाली कांग्रेसको कब्जा भनेर पोस्ट पनि गरेका छन् ।

Back to top