×

वीरगञ्ज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् ।

बुधबार वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सम्पन्न पर्सा-१(क) को मतगणनाको अन्तिम परिणाम आउँदा रहबर आफ्ना निकटतम प्रतिष्पर्धीलाई २ हजार भन्दा पनि बढी मतको अन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले उपलब्ध गराएको मतपरिणामको नतिजा अनुसार रहबर आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विचारी प्रसाद यादवभन्दा २ हजार २ सय ९९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

रहबरले ७ हजार ८ सय १७ मत प्राप्त गर्दा उनका विचारी ५ हजार ५ सय १८ मत मात्र प्राप्त गरेका छन् । ५ हजार २ सय ८६ मत ल्याएर स्वतन्त्र उम्मेदवार तथा यस क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य जनत अन्सारी तेस्रो भएका छन् । त्यसैगरी ४ हजार ५४ मत प्राप्त गर्दै स्वतन्त्र उम्मेदवार सुधीर पटेल चौथो भएका छन् । 

पाँच दलीय गठबन्धनको तर्फबा साझा उम्मेदवार बनेका रहबरले आफ्नो जीवनमा पहिलो पटक निर्वाचन जितेका छन् । रहबर यसअघि २०७४ मा नेकपा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयर र त्यसपछि भएको आम निर्वाचनमा पर्सा १(क) बाट नै प्रदेशसभा सदस्यको निर्वाचन लडेर पराजित भएका थिए  । वीरगञ्ज महानगरको निर्वाचनमा रहबर निवर्तमान मेयर तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगीसँग र प्रदेशसभाको निर्वाचनमा पनि तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालका जनत अन्सारीसँग पराजित भएका थिए ।

रहबरको जितसँगै पर्सामा नेकपा माओवादी केन्द्रले पहिलो जित हासिल गरेको छ  ।

Back to top