×

वीरगञ्ज, २७ कार्तिक ।  जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आसन्न निर्वाचनमा एक उम्मेदवारले चुनौती दिने देखिएको छ । 
पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका लागि एमाले–जसपाका साझा उम्मेदवार बनेका राउतका लागि अन्यमध् उम्मेदवारहरू चुनौती बनेका छन् । पर्सा १ (ख) का प्रदेश सभा सदस्यमा २० जनाले उम्मेदवारी दिएका छन् त्यसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

जसपाबाट लालबाबु राउत, काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी, जनमत पार्टीबाट शिवप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टी, नेपालबाट अङ्कुश पटेल, राप्रपाबाट विनयप्रसाद झा, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्रप्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेनले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, कासिम मियाँ धोवी, श्यामप्रसाद गुप्ता, मुकेश साह सोनार, विशाल कुमार, रोगीन्द्र ठाकुर हजाम, जुनैद हुवारी, आफताब अहमद, शशीकपुर मियाँ, राकेश कुमार दुवे, रामरुप प्रसाद साह, पुन्देश्वर प्रसाद यादव र सन्तोष कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।   

यी उम्मेदवारमध्ये ओमप्रकाश सर्राफ, रामनारायण कुर्मी र शशी कपुर मियाँले मुख्यमन्त्री राउतलाई टक्कर दिइरहेका छन् । नेता सर्राफ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट विद्रोह गरेर लौरो अभियानमा सामेल भएर चुनावमा उठेका हुन् । उनी लोसपा वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष थिए । लामो समय सो पार्टीमा रहेर काम गरे पनि उनलाई पार्टीले टिकट नदिएपछि उनी लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका हुन् ।

त्यस्तै शशी कपुर मियाँले जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्सा १ (ख) मा जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका राउत, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफ र शशी कपुर मियाँबीच प्रतिस्पर्धा रहेको छ ।

यी तीनजनामध्ये मुख्यमन्त्री राउत निकै पछाडि रहेको बताउँछन् अर्का नागरिक अगुवा मदन गुप्ता । उनी भन्छन्, ‘मुख्यमन्त्रीले जुन अवसर पाउनु भएको थियो त्यो अवसर गुमाउनुभयो, यसपटक उहाँको जमानत जफत हुन्छ ।’ महानगरभित्र पर्ने सो क्षेत्रमा मुख्यमन्त्री राउतको निकै आलोचना हुने गरेको छ । 

ठुला भ्रष्टाचारमा उनको नाम मुछिएको कारणले पनि मतदातामा उनीप्रति निराशा रहेको बताउँछन् प्रकाश थारु । मुख्यमन्त्री राउतलाई हराउने अभियान नै यहाँ चलेको बताउँदै उनले भने, ‘राउतले मधेशको मुद्दालाई भजाए तर वीरगञ्जको लागि केही गरेनन् ।’ 

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भएको भ्रष्टाचारले पनि मतदाताको नजरमा पूर्वमन्त्री राउतको छवि धुमिल भएको अभियन्ता थारु बताउँछन् । ‘पोखरी सौन्दर्यकरण कार्यक्रममा पनि राउतले भ्रष्टाचार गरेको कुरा बाहिर आएको छ । छोरी बीमा पनि लागु गराउन नसकेको कारणले राउतको ग्राफ तल झरेको छ,’ उनले बताए । 

पर्सा १ (ख) मा मुस्लिम समुदायको मत करिब ६ हजार रहेको छ । तर राउत आफू मुस्लिम भएर पनि समुदायका लागि केही नगरेको उनीहरूको गुनासो छ । ‘मुस्लिम समुदायको नाममा उनी मुख्यमन्त्री बने तर उनले आफूबाहेक अरू कसैका लागि केही गरेनन्,’ अभियन्ता गुप्ताले भने । 

मुस्लिमको मत स्वतन्त्र उम्मेदवार शशी कपुर मियाँले काट्ने धेरैको बुझाइ छ । सो क्षेत्रमा करिब १५ सय ब्राह्मण तथा यादवको मत ५–६ सय रहेका छन् । बाँकी मत वैश्यको रहेका छन् । वैश्यमा बानियाँ, गुप्ता, सोनार, तेली, सुडी, कलवारलगायतका जात पर्छन् । त्यहाँ हजार १५ सय दलितको मत पनि रहेको छ । 

पर्सा १ (ख) मा महानगरपालिकाका नौवटा वडा रहेका छन् । महानगरपालिकाका मेयरमा जसपा जितेको छ भने ती नौवटा वडामध्ये जसपाले ४, काँग्रेसले ३ र एमालेले २ वटा वडा जितेको छ । स्थानीय तहको मतको हिसाब गर्ने हो भने जसपा–एमाले गठबन्धन बलियो देखिएको छ । 

काँग्रेस सो क्षेत्रमा दोस्रो स्थानमा छ । तर पार्टीबाट उम्मेदवार बनेका उम्मेदवार रामनारायण प्रसाद कुर्मी अर्को क्षेत्रबाट त्यहाँ चुनाव लड्न आएको गुनासो भइरहेको छ । यद्यपि उनी पनि बलियो उम्मेदवार रहेको प्रकाश थारु बताउँछन् । उनी भन्छन्, ‘पर्सा १ (ख) मा मुख्यमन्त्री राउत, रामनारायण प्रसाद कुर्मी, ओमप्रकाश सर्राफ र शशीकपुर मियाँ बीच प्रतिस्पर्धा हुन्छ ।’  
 

Back to top