×

वीरगञ्ज, ६ कार्तिक ।  कथाकार नवीन अभिलााषी डिसहोम १२खरी कथा लेखन प्रतियोगिता २०७९ मा प्रथम भएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिसहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ अभिलाषीको ‘दमाहा’ कथा प्रथम भएको हो ।

पत्रकारितामासमेत सक्रिय रहेका अभिलाषीले प्रमाणपत्र र ट्रफीसहित नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । अभिलाषीद्वारा लिखित ‘मौलामा बाँधिएको राँगो’ पुस्कत पनि पछिल्लो समय चर्चामा छ ।

रमेशजङ्ग थापाको ‘डढेको आकाश’ कथा दोस्रो भएको छ । थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । कथाकार रुमु न्यौपानेको ‘घूँघट’ शीर्षकको कथा तेस्रो भएको छ । उनले ट्रफीसहित ४० हजार नगद प्राप्त गरेकी छन् ।

डिसहोम १२खरी कथा लेखनको चौथो स्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, यूएई, मलेसियालगायत मुलुकबाट ५ सय ९६ कथा प्राप्त भएका थिए । तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका थिए । उत्कृष्ट २५ भित्रबाट प्रथम, द्वितीय र तृतीय कथा पनि छनोट गरिएको छ ।

साथै, २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७९’ पनि लोकापर्ण गरिएको छ । कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले ‘१२खरी उत्कृष्ट कथा–२०७९’ पुस्तकको लोकार्पण गरेका हुन् । 

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा. डा. कुमारप्रसाद कोइराला संयोजक थिए भने अध्येता सगुना शाह र कथाकार उमा सुवेदी सदस्य थिए । आन्तरिक मूल्यांकन समितिमा बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारी र राजेश खनाल रहेका थिए ।
 

Back to top