×

बारा, १ कार्तिक ।  डिभिजन वन कार्यालय बाराले आफ्नो कार्यलयमा आउने अतिथिहरुलाई मायाको चिनो स्वरुप ‘भीम सखुवा’ को तस्विर दिने गरेको छ । भीम सखुवा बाराको वन क्षेत्र मात्रै नभएर देशभरमै सबैभन्दा मोटो र पुरानो साल प्रजातीको रुख हो । 

वन कार्यालय बाराले संघ, प्रदेश मन्त्रालय, विभाग, प्रकृती संरक्षण कोष लगायत वन जंगलसँग सरोकार राख्ने संरक्षणकर्मीहरुलाई  स्वागत तथा बिदाईमा मायाको चिनो स्वरुप सो तस्विर दिने गरेको छ । 

डिभिजन वन कार्यालय बाराका सहायक डिभिजन वन अधिकृत अनिलकुमार साहले जिल्लामा आउने अतिथिहरुलाई बाराको वनलाई प्रतिनिधित्व गर्ने र दिर्घकालिन रुपमा पनि महत्व राख्ने हिसावले भीम सखुवाको तस्विर उपहार स्वरुप दिने गरेको बताए । 

‘बजारको महङ्गो सामाग्री खरिद गर्नुभन्दा भीम सखुवा उपहार स्वरुप दिनुको कारण बाराको वन जंगलको महत्व झल्काउने र संरक्षणमा टेवा पुर्याउने हाम्रो मुख्य उद्देश्य हो’ साहले भने । 
महाभारतामा भीम सबैभन्दा बलियो र मोटो भएको हुनाले यो रुखको नाम पनि भीम सखुवा राखिएको वन कार्यालयले जनाएको छ । सो रुखको भीम सखुवा भनेर नामाकरण  ६ दशक अघि नै भएको वन कार्यालयले जनाएको छ ।

१८ फिट सम्म गोलाई भएको करिव २ सय वर्ष पुरानो साल प्रजातीको यो रुख नेपालमै सबैभन्दा पुरानो र मोटो भएको निर्वतमान वन विभागका महानिर्देशक मानबहादुर खड्काले बताए । ‘अहिलेसम्मको अध्ययनमा नेपालको वनमा साल प्रजातिको यतिको मोटो गोलाई भएको रुख अन्यत्र भेटिएको छैन’ पूर्व महानिर्देशक खड्काले भने । 

भीम सखुवा पथलैया–निजगढ सडकखण्डको तामागढी गेटदेखि कोहल्वी जाने हुलाकी सडकखण्डमा पर्दछ । वन कार्यालयले हालसम्म संघ, प्रदेश वन तथा वातावरण मन्त्री, सचिव, वन विभाग महानिर्देशक, प्रदेश वन सचिव, प्रदेश वन निर्देशनालय प्रमुख, राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख लगायत वन, वातावरणसँग जोडिएका उच्च सरकारी कर्मचारीहरुलाई स्वागत तथा बिदाईमा सो तस्विर उपहार  स्वरुप प्रदान गरिसकेको छ । 

६ दशकअघिसम्म बाराको वनमा देशभरमै मोटा सालका रुखहरु पाईन्थ्यो । तर, पछिल्लो समय वनमा हुने चोरी तस्करीका कारण घना जंगलको ठुलो भाग विनाश भईसकेको छ भने मानविय अतिक्रमणका कारण वनको धेरै जग्गा बस्तीमा परिणत भईसकेको छ । 

‘मेरो बिचारले यसको आयु २ सय वर्ष भन्दा कम छैन, यति पुरानो साल प्रजातिको रुख अहिलेसम्म अन्त भेटिएको छैन्’ पूर्व महानिर्देशक खड्काले भने । खड्का २०६९ देखि ०७१ सम्म जिल्ला वन अधिकृत भएर २ वर्ष बारामा बसेका थिए । 

वन कार्यालयले गत वर्ष पहिलो पटक पूर्व महानिर्देशक खड्का सेवाबाट अवकाश भएपछि यो तस्विर प्रदान गर्न शुरु गरेको हो । त्यसयता दर्जनौ अतिथिहरुलाई यो तस्विर उपहार स्वरुप बितरण गरिसकेको वन कार्यालयले जनाएको छ ।

बाराका निवर्तमान डिभिजन वन अधिकृत मञ्जुर अहमदले वन जंगलको महत्व र संरक्षणमा टेवा पुर्याउने उद्देश्यले जिल्लाको पहिचानको रुपमा भिमसखुवाको तस्विरलाई उपहार स्वरुप दिन शुरु गरिएको बताए । ‘भिमसखुवा बारा जिल्लाको पहिचान भएकोले बजारमा पाईने महङ्गा उपहार भन्दा यो तस्विर धेरै उपयुक्त लाग्यो हामीलाई’  अहमदले भने । उनले आफ्नो कार्यकालदेखि यस्को शुरुवात गरेका हुन् ।

पछिल्लो समय बाराको वनजंगलको विषयमा राष्ट्रिय रुपमा हुने छलफलमा  भीम सखुवाको चर्चा हुने गरेको उनले बताए । जिल्लाको १६ वटा पालिका मध्ये उत्तर तर्फ रहेका जितपुर सीमरा, कोहल्वी र निजगढ नगपालिकामा मात्रै वन क्षेत्रहरु रहेको छ ।  

बाराका डिभिजन वन अधिकृत विनोद सिंह २०४५ सालमा वन विज्ञान अध्ययन भ्रमणमा क्रममा बाराको भीम सखुवा हेर्न आएको बताउछन् । ‘२०४६ सालमा अहिलेजस्तो बाटो राम्रो थिएन तर हामीले अध्ययन भ्रमणको क्रममा नेपालकै सबैभन्दा पुरानो र मोटो रुख भनेर यी सखुवा हेर्न बारा आएका थियौ’ अधिकृत सिंहले भने । पछिल्लो समय धार्मिक रुपमा पनि स्थानियहरुले सो रुखलाई पुजा गर्ने गर्दछन् । 


 

Back to top