×

वीरगञ्ज १७ असोज । नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् ।

निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।

कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो । कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासम्म गरेका थिए ।

सभापति शेरबहादुर देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न ३ दिन पदाधिकारी बैठक राखेर सहमतिको प्रयास गरेका थिए । शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो ।

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।

कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो । कोइराला पक्ष त्यसमा केही घटेको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर असोज ३ मा बुझाएको नाममा हेरफेर गरेका छन् ।  रातोपाटी

Back to top