×

वीरगञ्ज, ६ असोज ।  साहित्यको विकास र विस्तार गर्ने अभिप्रायले स्थापीत साहित्यिक चौतारी नेपालद्वारा  बालबालिका लक्षित रचना वाचन तथा बाल साहित्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । 
संस्थाकी अध्यक्ष गीता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकारद्वय प्राध्यापक डा. भीम खतिवडा र डा. देवी नेपाले सम्बोधन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै डा.नेपालले बालसाहित्य’ शब्दको प्रयोग दुई अर्थमा गरिने गरेको बताए । उनकाअनुसार बालबालिकाले लेखेको साहित्य र बालबालिकाका निम्ति अरूले लेखेको साहित्यका रुपमा बाल साहित्य शब्दको प्रयोग हुने गरेको जानकारी दिए ।

बालबालिका भनेको भोलिको भविष्य मात्रै नभएर नेपाली साहित्यको भावी पुस्ता समेत रहेको बताउँदै प्राध्यापक डा. भीम खतिवडाले बाल मनोविज्ञानको प्रशंसा गरे । बालबालिकासँग भएको प्रतिभालाई उजागर गर्न अभिभावकले  प्रेरणादायी भूमिका निर्वाह गर्न सक्ने उनको भनाई छ । सकेसम्म सिर्जना आफै सिर्जित गर्न प्रेरित गर्दै खतिवडाले बालसाहित्यको भविष्यका लागि प्रशस्तै अवसर रहेको बताए । 

साहित्यिक चौतारी नेपालले विभिन्न दिवसको सन्दर्भ पारेर यस्ता थुप्रै कार्यक्रम गर्दै आएको र हालसम्म करिब १९  स्कुल कलेजमा साहित्यिक चौतारी नेपाल इकाई कमिटी गठन गरी साहित्यको बारेमा कार्यशाला समेत गर्ने गरेको संस्थाकी अध्यक्ष गीता भण्डारीले बताइन् । साथै साहित्यमा कलम चलाउने सिकारूहरूका लागि चौतारीले “आनन्दशाला” को सुरुवात चाँडै गर्ने अध्यक्ष भण्डारीको भनाई छ । 

कार्यक्रममा १५ वर्ष मुनिका १५ बालबालिकाको उपस्थिती रहेको थियो । दियासा तिवारी नवलपुर, सौगात घिमिरे भारत, एरिका सापकोटा जापान, प्रकाश बडू बैतडी, हिमाक्षी दवाडी सिक्किम, प्रज्ञान दवाडी भारत, कृष्णा लौडारी हेटौडा, अभिनय शर्मा सिलिगुडी, स्प्रिहा भट्टराई जापान, साकार नेपाल सुर्खेत, सिर्जना घिमिरे भारत, दिव्या बास्तोला सिक्किम, अनुपम पौडेल पोखरा, निमिशा निरौला हेटौडा, अथर्व सुवेदी सिक्किम को उपस्थिती रहेको थियो । शंकर ढकालले प्राविधिक संयोजन गरेको कार्यक्रमको सहजीकरण संस्थाकै कान्छो सदस्य शिरीष बन्जाडेले गरेका थिए । 
 

Back to top