×

जाडो उत्कर्षमा पुगेको छ । शरीरलाई तातो राख्नका लागि धेरैले विभिन्न तरिका अपनाइरहेका छन् । यसैबीच कोरोनासँगको युद्ध पनि एउटा भिन्न चुनौती हो जसमा इम्युनिटीको ख्याल राख्नैपर्ने भएको छ । के तपाईंलाई थाहा छ, अण्डामा ती सबै तत्व पाइन्छन् जसको आवश्यकता हाम्रो शरीरलाई यतिबेला सबैभन्दा बढी छ । अण्डाले हाम्रो शरीरलाई तातो राख्नुका साथै यसले इम्युनिटी अर्थात् प्रतिरोधी क्षमता बढाउन पनि प्रभावकारी छ । आउनुहोस् चिसो मौसममा अण्डा खानुका उत्कृष्ट फाइदाबारे जानकारी लिऔं ।

प्रतिरोधी: अण्डाको पहेँलो भागमा पाइने कोलिन पोषक तत्वले भरपुर हुन्छ जसले तपाईंलाई स्वास्थ राख्नुका साथै तपाईंको प्रतिरोधी क्षमता वृद्धि गरेर तपाईंले रोगसँग लड्ने शक्ति पाउनुहुन्छ । त्यसैले चिसो मौसममा विज्ञले व्यक्तिलाई आफ्नो दैनिक खानपिनमा अण्डा समावेश गर्न सल्लाह दिन्छन् ।

कपाल बलियो: प्रोटिन शरीरका लागि असाध्यै आवश्यक तत्व हो । अण्डामा प्रोटिनका साथै अमिनो एसिड हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । चिसो मौसममा दैनिक एउटा अण्डा खाँदा हाम्रो कपाल बलियो हुन्छ र छाला पनि चम्किन्छ । शरीरमा प्रोटिनको कमी हुँदा ठूलो समस्या निम्तिन सक्छ । प्रोटिनले हड्डी बलियो बनाउनुका साथै तौल नियन्त्रण गर्न पनि प्रभावकारी भूमिका निर्वाह गर्छ ।

शरीरलाई तातो राख्छ: चिसो मौसममा अण्डा एक निकै शक्तिशाली चिज हो । यसले हामीलाई प्रोटिन, ऊर्जाका सागै शरीरलाई तातो राख्ने भिटामिन प्रदान गर्छ । यसले शरीरलाई हानी गर्ने विषाक्त पदार्थबाट पनि टाढा राख्छ । दिनदिनै अण्डा खाँदा चिसोले तपाईंलाई असाध्यै सताउन सक्दैन र तपाईं बिरामी पर्ने सम्भावना पनि कम हुन्छ ।

तौल घटाउन सहयोगी: आफ्नो दैनिक क्रियाकलापमा हरेक व्यक्ति व्यस्त छन् र यसका कारण उनीहरु आफ्नो बढिरहेको तौलमाथि ध्यान दिन पाइरहेका हुँदैनन् । अण्डामा पाइने कोलिनले स्ट्रेस रिलिज गर्छ जसका कारण तपाईंको मूड र मेटाबोलिजमलाई बुस्ट गरेर तौल नियन्त्रण गर्ने काम गर्छ ।

मुटुको स्वास्थ्यका लागि फाइदाजनक: अण्डाले रक्त सञ्चारलाई दुरुस्त राखेर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्न प्रभावकारी छ । शरीरमा राम्रो रक्तसञ्चार हुँदा रोग टाढै बस्छन् र शरीरले राम्रोसँग काम गर्न सक्छ । आफ्नो दैनिक आहारमा एउटा अण्डा समावेश गर्दा मुटु रोगको खतरा पनि कम हुन्छ ।

Back to top