×

बारा, ४ असोज ।  हुलास स्टिल प्रा. लि. सिमराले  रसायनयुक्त प्रदुषित पानी वस्ती र जंगलमा छोडेको भन्दै स्थानियहरुले विरोध गरेपछि स्थानिय प्रशासनले उद्योग अनुगमन गरेको छ । 
उद्योगले रसायन युक्त प्रदुषित पानी वस्ती र सामुदायिक वन क्षेत्रभित्र फाल्दा बोट बिरुवा तथा जंगली जनावरलाई असर परेको भन्दै स्थानियहरुले तिनदिन देखि उद्योग मुल गेटमा धर्ना दिएर विरोध गरेका थिए ।

उद्योगको पश्चिम तर्फको पर्खालवाट कालो लेदो, पाईप सफा गरेको रातो खिया, कालो, निलो एसिड पानी जंगल र आसपासको वस्तीमा छोड्ने तथा उद्योगवाट निस्किएको ठुलो आवाज सहितको कम्पनका कारण आसपासका घरहरु चर्किएको भन्दै स्थानियहरुले समस्या समाधान गर्न जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयमार्फत यसअघि नै उद्योगलाई पत्र पठाएका थिए । पटक पटक पत्र काट्दा पनि उद्योगले अटेर गरेपछि स्थानियहरुले उद्योग परिसरमै धर्ना दिएका थिए । 

जीतपुर सिमरा वडा नं १ की स्थानिय सुरक्षा थापा कार्कीले उद्योगले चिम्नीबाट निस्कने एसिडयुक्त धुवा, रसायनयुक्त पानी र लेदो वस्तीमा  छोड्दा धेरै समस्या भएको बताइन् । ‘एसिडयुक्त पानी खाएर गाउँमा बाख्रा मर्ने र उद्योगको धुवाँले हामीलाई बाँच्नै कठिन बनाईदिएको छ’ कार्कीले भनिन् ‘हाम्रो माग उद्योगको चिम्नी, एसिडको ट्यांकी र उद्योगवाट  ठुलो आवाजमा निस्कने कम्पन व्यवस्थापन गर भन्ने  मात्रै हो, अर्वौको लगानी लगाएर उद्योग स्थापना तथा सञ्चालन गर्दा थोरैै लगानीमा प्रदुषणयुक्त पानी, लेदो व्यवस्थापन गर्न किन आलटाल गरिएको भन्ने मात्रै हो’ उद्योगबाट निस्किएको एसिडयुक्त धुवाँले स्थानिय वालवालिकाहरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, आँखामा समस्या, छाला चिलाउने लगायतका समस्या देखिएको भन्दै स्थानियहरुले प्रशासनसँग गुनासो गरेका छन् । 

स्थानियको गुनासो पछि आईतवार जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित प्रशासनको टोलीले उद्योगभित्र र प्रभावित क्षेत्रहरुमा स्थलगत अनुगमन गरेको छ । उद्योग अनुगमन पश्चात बसेको बैठकले महिनादिन भित्र स्थानियको समस्या समाधान गर्न उद्योग प्रशासनसँग ५ बुँदे सहमती भएको छ । 

हुलास स्टिल प्रा.लिका प्रशासन प्रमुख चन्द्र चापाँगाईले समुदायलाई प्रभाव पार्नेगरी वस्ती र जंगलमा एसिड पानी नफालेको दावी गरेका छन् । ‘स्थानियहरुले लगाएको आरोप गलत हो, नेपाल सरकारको मापदण्डभित्र रहेर हामीले उद्योग सञ्चालन गरेका छौ’ प्रमुख चापाँगाईले भने ।

उद्योग प्रशासन र स्थानियबिच भएको ५ बुँदे सहमतीमा के छ ?

जनप्रतिनिधि र स्थानिय प्रशासनको रोहवरमा उद्योग प्रशासन र स्थानिय बिच भएको ५ बुँदे सहमतीमा हुलास स्टिल उद्योगवाट भएको दुषित पानी लिकेज उद्योगले तत्काल बन्द गर्ने, उद्योगले सामाजिक उत्तरदायित्व अन्र्तगत रोजगारीमा स्थानियलाई प्राथमिकता दिने, स्थानियको शिक्षा, स्वास्थ्यमा योगदान पु¥याउने, वृक्षारोपण लगायतका कार्यहरु गर्ने उल्लेख छ ।

साथै उद्योगवाट हुने ध्वनी प्रदुषण, वायु प्रदुषण, कम्पन नियन्त्रणका लागि उपलब्ध प्रविधिहरु भित्राएर प्रदुषण नियन्त्रण गर्ने, उद्योग परिसरको उत्तरतर्फ रहेको एसिड टंयाकी र चिम्नी एक महिनाभित्र स्थानान्तरण गर्ने सहमती भएको छ । ५ बुँदे सहमती पछि स्थानियहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । 


 

Back to top