×

वीरगञ्ज १८ साउन । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ । भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ ।

चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल टेलिकमका सह-प्रवक्ता सञ्जित लोहियाले बताए ।

विश्वका ९० देशमा ई-सिम प्रयोगमा आइसकेको छ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन् ।

ई-सिम भएपछि भौतिक सिमकार्ड खोज्नु नपर्ने लोहिया बताउँछन् । यदी मोबाइलले ई-सिम सपोर्ट गर्छ भने सिस्टमले अटोमेटिक कन्फिगर गरिदिने उनले जानकारी दिए ।

ई-सिम प्रयोगमा आएपछि पटक पटक सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन् । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरिरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । ई-सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

कस्तो हुन्छ ई-सिम?

ई-सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो । यसको आकार सानो हुन्छ । ई-सिम फोनको मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई न तपाई राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न र क्यारियर परिवर्तन गर्न सकिन्छ ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई-सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न सहज हुन्छ । फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ । यसले अरु सिम जसरी नै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।

Back to top