×

सन्तोषानन्दजी महाराज, अध्यक्ष, हिन्दू परिषद् नेपाल एवम् अखिल भारतीय सन्त समिति नेपाल

० सन्तोष पटेल भनेर चिनिँदै आएको तपाईँको नाम परिवर्तन भएको छ नि ?

म धर्मका लागि काम गर्दै आइरहेको छु । आज पनि गर्दैछु । हिन्दू परिषद् नेपालको अध्यक्षको नाताले मैले काम गर्दै जाँदाखेरि विभिन्न धार्मिक गुरुहरूसँग मैले परामर्श पनि लिएको थिएँ । उहाँहरूको साथ, सहयोग र आशीर्वाद पनि बेलाबेलामा पाइयो । विगतको समयदेखि नै हिन्दूका लागि कार्य गर्दा र यसमा अग्रसरता देखाउँदै आएको छु । गुरुहरूसँग समन्वय र सहकार्य हुँदै आएको छ । खासमा यो अखिल भारतीय सन्त समिति विश्वभरमा रहेका हिन्दूको पवित्र संस्था हो । यो गुरुजनहरूको संस्था हो । यो संस्थाले समाजलाई मार्ग निर्देश र सनानत धर्मको रक्षा गर्दै आएको छ । यसमा विभिन्न मठमन्दिरका पीठाधीशहरू आबद्ध हुनुहुन्छ । यसका साथै सनातन धर्मभित्र पर्ने साम्प्रदायहरू पनि यसमा आबद्ध छन् । यो मैले आफ्नो नाम आफैले नामाकरण गरेको होइन । सन्तोष पटेल भनेको मेरो बुवा र आमाले दिएको नाम हो । आज धर्मको काम गर्दा गुरुजनबाट आशीर्वादका रूपमा मैले यो नाम पाएको हुँ । गुरुजनले नामाकरण गरिदिनुभएको हो । धार्मिक उपाधि गुरुजन र सन्त समाजले मात्र दिने गरेका छन् । सन्त समाज बाहेक अरुलाई यो अधिकार छैन ।

० तपाईँ हिन्दू परिषदका अध्यक्ष हुँदा हुँदै भारतको सन्त समिति अध्यक्ष बन्नु भयो । हिन्दू परिषद् प्रभावकारी नभएर हो ?

धर्मको कार्य गर्दै जाँदा विभिन्न समयमा विभिन्न जिम्मेवारीहरू आउने गर्छन् । हिन्दू परिषद् नेपालले मलाई पहिचान दिएको हो । यो संगठन अहिले पनि छ र भविष्यमा पनि रहनेछ । यसको काम गर्ने तरिका अलग छ । सन्त समाज भनेको हिन्दू समाजमा सबैभन्दा पुजनीय र उच्च ओहोदा हो । गुरुजनले सम्मान स्वरूप मलाई दिनुभएको हो । मेरो कार्यको मूल्याङ्कन गरेर मलाई दिनुभएको हो । सन्त समाजको गाउँ कमिटी, जिल्ला कमिटीलगायत हुने गर्छ । सन्त समाजको काम गर्ने तरिका फरक हुन्छ । सन्तहरूको सम्मेलन गर्ने, मठमन्दिरका गुरुजनको समस्याको समाधान निकाल्नेलगायत काम हुन्छ । तर, सन्त समाजको एउटा मर्यादा छ । त्यो मर्यादाभित्र काम गर्नुपर्ने हुन्छ । हिन्दू परिषदको कार्य गर्ने एउटा तरिका छ । किनभने हिन्दू परिषद् नेपाल सनातन हिन्दू राष्ट्रको स्थापना गराउनका लागि गठन गरिएको हो ।  त्यही भएर यी दुवै छुट्टै संगठन हुन् । दुवैको आ–आफ्नै अस्तित्व छ ।

० अखिल भारतीय सन्त समितिको आवश्यकता नेपालमा किन प¥यो ?

यो समितिमा नेपालका सन्तहरू पनि आबद्ध छन् । यसमा विश्वभरका सन्तहरू आबद्ध छन् । हरेक संस्थाको एउटा केन्द्रीय कार्यालय हुन्छ । त्यस्तै, यसको केन्द्रीय कार्यालय भारतमा छ । धार्मिक हिसाबले पनि माता जानकी नेपालमा जन्मिनुभयो । त के भारतले मान्दैन ? मान्छ नि । विश्वभरका हिन्दूले मान्छन् । जस्तो भगवान पशुपतिनाथलाई अरुले पनि पूजा गर्छन् । त्यसैले संस्थाको कार्यालय कुन ठाउँमा छ भन्ने कुराले त्यति फरक पर्दैन । तर, उसको बटम लाइन के हो त्यो महत्वपूर्ण कुरा हो । यदी कुनै संस्थाले नेपालको विरुद्धमा कार्य गर्न भन्छ भने त्यो संस्थालाई तुरुन्त त्याग गरिदिन्छु । किनभने म नेपाली हो । देशविरुद्धमा कुनै सम्झौता गर्दिनँ । राष्ट्र र धर्म मेरो लागि सर्वोपरी हो । त्यसकारण यो भारती संस्था हो भनेर टिप्पणी गर्नुको कुनै कारण देख्दिनँ । हामीले हिन्दू परिषद् नेपालको पनि शाखाहरू देशमा खोल्न सक्छौँ नि । म त्यसका लागि स्वतन्त्र छु नि । मुस्लिमहरू पनि जुन देशमा बसे पनि उनीहरूको मुख्य कार्यालय मक्का मदिना साउदी अरबमा छ नि । सबै मानिसको आफ्नो आस्था हुन्छ । जस्तो चार धाम भारत छ । चार धामको यात्रा ग¥यौँ भने पुण्य प्राप्त हुन्छ । यो एउटा धार्मिक मान्यता हो । यसमा अन्यथा केही छैन । सुरुमा सनातन धर्मको उत्पति हुँदा हामी सबै एउटै भूगोलमा थियौँ नि । पछि देशको रेखाङ्कन हुँदै गयो । सिमाना भए तापनि कुनै धार्मिक कार्य गर्दा भारत र नेपाल जोडिन्छ । हाम्रो हरेक देवी देवताको नेपाल भारतसँग कनेक्शन छ । मैले कार्य गरेको भएर नै मलाई सन्त समाजको अध्यक्ष बनाइएको हो । मेरो कार्यलाई मूल्याङ्न गरेर आशीर्वाद स्वरूप दिनुभएको हो । को कहाँ छन् भन्ने कुरा प्रधान भएन । मुख्य कुरा विचार र भिजन हो ।

० अखिल भारतीय सन्त समितिको उद्देश्य के हो ?

सन्तहरूबीचमा तालमेल गराउनेलगायतका काम छन् । सन्तहरूबीच एक किसिमको समन्वय हुनुपर्छ । सन्तलाई कुनै लोभ हुँदैन । सन्तलाई सम्पति र परिवारको लोभ हुँदैन । विश्व नै सन्तको परिवार हो । आवश्यकताअनुसार सन्त सम्मेलन गर्ने, एक अर्काबीच समन्वय गर्नेलगायत काम सन्त समाजले गर्ने हो  । मुख्य कुरा धार्मिक गुरु कुनै पार्टीको कार्यकर्ता हुनु हुँदैन । सन्त समाजले समाजमा दिशा निर्धारण गर्ने काम गर्छ । यसको काम गर्ने पद्धति अलग छ । यसले सडकमा टायर बाल्दैन । यसको एउटा मर्यादा छ । सन्त बन्न संकल्पित हुनुपर्छ ।

० तपाईँ सन्त समाजको पनि अध्यक्ष भइसकेको हुँदा हिन्दू परिषद्मार्फत हिन्दू राष्ट्र स्थापना कत्तिको बल पुगेको छ ?

सनातन धर्मको कुरामा हामीले भारतका साथै अन्य मुलुकका धर्मगुरुहरूसँग सहकार्य, समन्वय गर्नुका साथै धेरै कुरा सकिरहेका छौँ । हामीले धेरै कुरा सिक्नुपर्ने रहेछ । किनभने जीवन धर्ममा लगाएहरूबाट धेरै कुरा सिक्न सकिन्छ । सनातन धर्मको उद्गमदेखि सनातन धर्मको रक्षादेखि लिएर समाजका लागि गर्नुपर्ने कार्यका लागि अभिभावक हामीले पाएका छौँ । उहाँहरूले हामीलाई गाइड गर्नुहुन्छ । त्यही भएर यसले हामीलाई थप उर्जा प्रदान गरेको छ । किनभने विश्वभरिका हिन्दूहरूको आस्थाको केन्द नेपाल हो । नेपाल हिन्दू राष्ट्र भएको पूरा विश्वका हिन्दूहरूले हेर्न चाहेका छन् । त्यसले सन्त समाजको पनि जिम्मेवारी दिनुले  हामीले गर्ने कार्यमा सहयोग नै पुगेको छ ।

० नेपाललाई धर्मनिरपेक्ष बनाइएपछि के कस्ता समस्याहरू देखिए ?

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएपछि सनातन धर्म मान्ने हिन्दू, बौद्ध, किराँतलगायतसँग गुण्डागर्दी, बदमाशीका घटनाहरू तीव्र गतिमा बढ्न थाले । गौ माताको हत्यादेखि लिएर मठमन्दिरका जमिनमा जबरजस्ती चर्च बनाउने, मस्जिद बनाउने, हिन्दू दिदीबहिनीहरूलाई लभ जिहादको नामका जबरजस्ती मुस्लिम बनाउनेलगायत कार्य हुन थाले । हरेक वर्ष हजारौँ दिदीबहिनी लभ जिहादको शिकार बनिरहेका छन् । तर, नेपाल सरकारले ९४ प्रतिशत सनातन धर्म मान्नेहरूको देश हुँदाहुँदै पनि कुनै सुविधा दिएको छैन । नयाँ नेपालको नामका केबल हिन्दू समाजलाई टार्गेट गरियो । हिन्दू समाजको मनोबल कमजोर पार्ने काम मात्र भयो । त्यही भएर नेपालीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन सकिएन भने बेधर्मीहरूले अस्तित्व नाश हुन्छ । खास गरेर नेपालका राष्ट्रिय पार्टीका नेताहरूले जो हिन्दूकै छोराछोरी छन्, उनीहरूले पैसा खाएर आफ्नो धर्म परिवर्तन गरेका छन् । अरु देशको धर्मलाई लाद्ने कोशिस भइरहेको छ । जबरजस्ती नेपालमा धर्म परिवर्तनका घटनाहरू व्यापक रूपमा भइरहेको छ । त्यही भएर धर्मनिरपेक्षको आडमा केबल हिन्दूसँग गुण्डागर्दी र बदमाशी भइरहेको छ । यो राष्ट्र बचाउनका लागि हिन्दू राष्ट्र नेपालबिना अब कुनै विकल्प छैन । 

Back to top