×

वीरगञ्ज ११ साउन । सप्तरीको महादेवा गाउँपालिकामा जीवन केन्द्र नेपालले दुईपटक तालिम सम्पन्न गरेबापत मनलाग्दी खर्च गरिएको पाइएको छ । 

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गाउँपालिकाले प्रत्येक तालिममा केन्द्रलाई चियाखर्चबापत प्रतिकप दुई सय ९० रुपैयाँका दरले भुक्तानी दिएको छ ।

आर्थिक वर्ष ०७७/७८ को ११ र १२ असारमा कोभिड–१९ रोग रोकथाम, नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरेबापत गाउँपालिकाबाट सामाजिक जीवन केन्द्र नेपालले चार लाख ९९ हजार नौ सय ९९ रुपैयाँ भुक्तानी लिएको थियो ।

यस तालिमका क्रममा चियाबापत प्रतिकप दुई सय ९० रुपैयाँ, चिसो प्रतिबोतल एक सय ५० रुपैयाँ र पानीको प्रतिबोतल ६० रुपैयाँ खर्च लागेको गाउँपालिकामा पेस गरिएको बिलमा उल्लेख छ ।

यसै गरि स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।

नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।

यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् । जसको खर्च ७५ हजार पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
 

Back to top