×

वीरगञ्ज, २७ अषाढ । संघ सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई गृहनगर वीरगञ्जमा सोमबार विभिन्न स्थानमा भव्यताका साथ स्वागत गरिएको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गत शनिबार गृहनगर वीरगञ्ज आइ पुगेका वन मन्त्री यादवलाई त्यही दिन पनि भव्य स्वागत गरिएको थियो ।

सोमबार पनि नवनियुक्त मन्त्री यादवलाई विभिन्न ठाउँका स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् । मन्त्री यादवलाई वीरगञ्ज महानगरपालीका वडा नम्बर ३, ४, ५, ७, ८, १८ र २२ मा स्थानीय र निर्वाचित जनप्रतिनिधिले स्वागत र सम्मान गरेका थिए ।

त्यसैगरी उनलाई वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह लगायत त्यहाँ कार्यरत कर्मचारी र उपस्थित स्थानीयले फुलमाला, दोशाला ओढाएर सम्मानित गरेका थिए । 

मन्त्री यादवलाई उनको गृहवडा मनियारमा पनि स्थानीयले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै मन्त्री यादवले स्थानीयहरुको स्वागत र सत्कारले आफू प्रफुल्लित भएको बताका थिए । उनले वीरगञ्जको छोरा मन्त्री नियुक्त हुँदा स्थानीयहरुले दिएको सम्मानको कदर गर्दै जिल्लामै विकासको लहर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । 

त्यसतै यादवलाई स्थानीय सञ्चार संस्था मधेसखबर र रातोपाना अनलाइनले पनि आफ्नो कार्यालयमा बोलाएर सम्मानित गरेको थियो भने वीरगञ्ज कलाकार समाजले पनि महानगरपालिकाको कार्यालयमा पुगेर उनलाई सम्मानित गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । वीरगञ्ज कलाकार समाजले यादवलाई भोजपुरी संस्कृति झल्काउने गम्छा र घण्टाघरको चित्रकला पनि प्रदान गरेको बरनवालले बताए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा वडा अध्यक्ष उमाशंकर तिवारीले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाएर सम्मानीत गरेका थिए । मन्त्री यादवसँगै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पनि स्थानीयहरुले सम्मानित गरेका थिए ।

त्यसैगरी उनले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना साटासाट पनि गरेका थिए ।

Back to top