×

वीरगञ्ज ४ असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा पर्ने माइस्थान सडकबाट गएको जेठ २४ गते विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न लगायतका मालबस्तु लोड गरिएको ट्रक प्रहरीले बरामद  गर्‍यो ।

बरामद ना ४ ख ४३०१ नम्बरको ट्रक तथा मालबस्तुको १ करोड रुपैयाँ मुल्यांकन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो । माइस्थानबाट ट्रक सहित बरामद गरिएको यो ठूलो मूल्यको सामान थियो ।

यस्तै बैशाख १० गते घण्टाघर नजिकबाट बा २ ख ३४३५ नम्बरको मालबाहक ट्रक प्रहरीले जाँच गर्ने क्रममा नियन्त्रणमा लियो ।

भन्सार छलीका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका सामान फेला परेपछि ३० लाख रुपैयाँ मूल्यांकन गरेर यसलाई पनि आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा नै बुझाएको छ ।

गएको जेठ ११ गते रजतजयन्ती चोकमा जाँच गर्ने क्रममा प्रहरीले ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ  गर्‍यो ।

प्र.३–०२०११ प ८३२७ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्ज आइरहेका भारत बिहार जिल्ला बेतिया ग्राम  पञ्चायत गुर्वालियाका ४२ वर्षीय  सञ्जय रामलाई उक्त परिणामको रकमसहित प्रहरीले पक्राउ गरेको थियो । शंकास्पद हुण्डी कारोबारमा संलग्न रहेको र बरामद रुपैयाँ पनि हुण्डी कारोबारमा लगाउन लागेको पाएपछि रामलाई पक्राउ गरेर कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

त्यसैगरी जेठ ३० गते काठमाडौँको अनामनगरमा रहेको सुन पसल लुटपाट घटनामा संलग्न एक व्यक्ति वीरगञ्जको बाटो हुँदै रक्सौल तर्फ भाग्दै गरेको वडा प्रहरी कार्यालय विर्तालाई बिहान साढे ८ बजे जानकारी आयो । जानकारी आउनसाथ वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको नेतृत्वको टोली वीरगञ्ज-रक्सौल नाका पुग्यो र शंकराचार्य गेट कट्नै लागेका बेला ३० वर्षीय सुनिल रजाकलाई ९ बजे नियन्त्रणमा लियो ।

माथि उल्लेखित घटनाहरु त प्रतिनिधि घटना मात्रै हुन् । वडा प्रहरी कार्यालय विर्ताले आफ्नो सकृयतामा दैनिक जसो यस्ता घटनालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

वडा प्रहरीले नियन्त्रणमा लिएका र पक्राउ परेकाहरु अधिकांस लागुऔषध कारोबारमा संलग्न तथा बरामद सामान भन्सार छली भएर आएका पाइने गरेको छ ।

वडा प्रहरीको नेतृत्व सम्हालेको २ महिना हुँदै गर्दा इन्स्पेक्टर मल्लको टोलीले आफ्नो क्षेत्रमा शान्तिसुरक्षा, लागुऔषध प्रयोग र कारोबारमा नियन्त्रण, तस्करी नियन्त्रण लगायतमा विशेष अभियान नै चलाएको छ ।

परिणाम स्वरुप यो क्षेत्रहुँदै भन्सार छलीका सामान, लागुऔषध भित्र्याउन खोज्ने धमाधम नियन्त्रणमा आइरहेका छन् ।

यही समयमा नै लागुऔषध नाइट्रोभेट, ब्राउन सुगर, नुर्फिन, फेनार्गनसहित ९ जना पक्राउ परे भने चोरीको मोटरसाईकलसहित १ जनालाई पक्राउ गर्न वडा प्रहरी कार्यालय विर्ता सफल भएको छ ।

वीरगञ्जको मुख्य बजार क्षेत्र घण्टाघर, माइस्थान, आदर्शनगरका साथै मुख्य प्रवेशद्वार तथा सीमा क्षेत्र वडा प्रहरीकै क्षेत्रभित्र पर्ने भएकाले यो संवेदनशील क्षेत्रमा अभियानकै साथ अघि बढ्दा सफलता मिल्छ भन्ने अभिप्रायले वडा प्रहरी तदारुकताका साथ लागिरहेको देखिन्छ ।

यो पछिल्लो २ महिनामा झण्डै २ करोड मूल्यका भन्सार छलीका सामान बरामद गरेर बुझाउनु, लागुऔषध, हुण्डि कारोबारी धमाधम पक्राउ पर्नु, चोरीका मोटरसाईकल सहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल हुनु समग्र प्रहरीको सफलता हो ।

विगतमा दिनहुँजसो चोरीका घटना हुने गरेकोमा अहिले त्यसलाई न्यूनिकरण गर्न सकिएको तथ्यांकले देखाएको छ । प्रहरी गस्ति तथा सूचना संकलन र परिचालन तदारुकताका साथ हुँदा अहिले चोरीका घटना नियन्त्रण हुनुका साथै शान्तिसुरक्षा मजबुद भएको स्थानीय नै बताउँछन् ।

समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी मात्रैले संभव नहुने हुँदा आम सर्वसाधारणको भुमिका पनि उत्तिकै हुनु पर्ने देखिन्छ ।

प्रहरी निरीक्षक मल्ल भन्छन्, ‘प्रहरी समूदाय साझेदारीमा अघि बढ्न सकिए समाजका सबैखाले विकृति अन्त्य गर्न सकिन्थ्यो, त्यो अभियानमा हामी सबै जोडिन जरुरी छ ।’

Back to top