×

वीरगञ्ज १४ बैशाख । रोजगारी तथा अध्ययनको शिलशिलामा बाहिर गएकाहरुले स्थानीय सरकारको आगमनपश्चान वीरगञ्ज शहर कायापलट भएको आशा गरेका थिए । तर लामो समयपछि पुनः वीरगञ्ज फर्किदा उनीहरुको आशा निराशामा परिणत भएको छ । मधेश आन्दोलनको रापमा मधेशवादी दलले नै विजयी हाँसिल गरेको वीरगञ्ज महानगरपालिकामा मधेशको विकास र मधेशी समुदायको जिवनस्तरमा सुधार हुनेमा आशाबादी जनता अर्को निर्वाचन नजिकिएसँगै निराश बनेका हुन् । 

जनता निराश हुनु पनि स्वभाविक नै हो, संघीयतापश्चात घरघरमा सिँहदरबारको नारा लगाएसँगै थुप्रै झुठा आश्वासन बाँडेका जनप्रतिनीधिले जितेपछि जनतामा कर लाद्ने र आफ्ना आसेपासेलाई नियुक्ती दिन बाहेकका कुनै काम नगरेपछि सन्तुष्ट हुने कुनै कारण पनि छैन । 

वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् । टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् । विगतदेखि नै खेल्दै आएको नारायणी रंगशाला, आदर्शनगर रंगशाला पनि व्यवस्थित र अत्याधुनिकसहितको भयो होला भन्ने कल्पना पनि कल्पनामै सिमित रह्यो । व्यवस्थित हुनुपर्नेमा दुवै रङ्गशालाको अवस्था उल्टै जीर्ण बन्दै गइरहेको छ । 

घडिअर्वा पोखरीको सौन्दर्यकरण, अन्य पार्कहरु निर्माण, वृक्षरोपणले हराभरा भएको होला भन्ने सपना पनि विपनामा रुपान्तरण हुन सकेन । अँझै भएका खुला ठाउँमा पनि प्लटिंग गरिएको दृश्यले अब स्वच्छ र हराभरा वीरगञ्जको परिकल्पना यथार्थमा हेर्ने सपना सपनामै सिमित हुनेमा नगरबासी चिन्तीत देखिन्छन् । पूरानो बस पार्कलाई एउटा सुन्दर पार्क बनाउन सकिन्थ्यो तर यहाँका निर्वाचित मेयर विजयकुमार सरावगीले त्यसलाई कंक्रिटीकरण गरेर गाडी पार्किङ्ग गर्ने ठाउँ बनाइदिए । अब महानगरको मूख्य बजार क्षेत्रमा खुला ठाउँ नै छैन ।

मधेश आन्दोलनकै रापमा भएको चुनावमा मधेशबादी पार्टीबाट सरावगी मधेश प्रदेशको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित भए । महानगरका ३२ वटा वडामध्ये १३ जना वडाअध्यक्ष पनि तत्कालिन संघीय समाजवादी फोरम हालको जसपाबाट भएको र मेयरसँगै मधेश प्रदेशको मुख्यमन्त्री पनि सोही पार्टीका भएपछि जनताको अपेक्षा बढ्नुलाई स्वभाविक मान्न सकिन्छ । तर वडा स्तरमै पुगेको स्थानिय सरकारले संतोषजनक काम गर्न नसकेपछि वीरगञ्जका स्थानियहरुले यसपटक परिवर्तन खोजिरहेका छन् । 

No description available.

मेयर पदमा निर्वाचित भए पश्चात आफैले घोषणा गरेका कामसमेत गर्न नसकेका सरावगीले पुनः ठूलाठूला सपना बाँडेर निर्वाचनमा होमिएपछि नगरबासीले उनलाई विश्वास गर्ने आधार पनि देखिँदैन । उनले अघिल्लो निर्वाचनताका मेरो कसम नामले बाँडेको सपनाबाट सबै प्रभावित थिए । व्यापारिक पृष्ठभूमिबाट आएका सरावगीसँग काम गर्ने भिजन होला, देशविदेशमा रहेका संघसंस्थासँग सहकार्य गरेर उनले यहाँ नीतिगतदेखि भौतिक रुपमै राम्रा परिवर्तन गर्लान भन्ने नगरबासीको सोच थियो । तर उनि निर्वाचित भएर आएपछि त्यस्तो केहि भएन । महानगरको विकासका लागि योजना लिएर आउने विज्ञहरुलाई उनले आफै पढाएर पठाउने गरेको महानगरकै कर्मचारीहरु बताउँछन् । 

सबैमा शिक्षाको पहुँच पुगोस् भन्ने अभिप्रायले सरकारले सामुदायीक विद्यालयमा माद्यामिक सम्मको शिक्षालाई निःशूल्क बनाएर सबै जिम्मेवारी स्थानीय तहलाई नै हस्तान्तरण गरेको थियो । तर सरकारको प्रयास असफल भयो भन्दा कुनै फरक नपर्ला । किनभने अहिले पनि अंग्रेजी कक्षा, परीक्षा शूल्कलगायतका बहानामा सामुदायिक विद्यालयमा पनि शूल्क असुल्ने क्रम नरोकिदा गरिब, विपन्न समुदायका बालबालिकाहरुसमक्ष शिक्षाको पहुँच पुग्न नसकेको यथार्थ हो । शैक्षिक क्षेत्रमा सुधार होला भन्ने अपेक्षा पनि निरासामा परिणत भयो । मेयर सरावगी प्रधानाध्यापक र शिक्षक सरुवाको राजनीतिमै पाँच वर्षसम्म रुमलिए । 

No description available.

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माद्यामिक तह सम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरे पनि सो व्यवस्था कार्यन्वयन हुन सकिरहेको छैन । यसका अलावा विद्यालयमा पनि मनलाग्दो नियुक्ती र आफुखुशी सरुवा गर्ने प्रवृतिले कतिपय शिक्षकहरु नै सरावगीसँग रुष्ट छन् । 

भौतिक संरचना थप्नु त परको कुरा भएका संरचनाहरुको समेत संरक्षण तथा संवद्र्धन एवम् जगेर्ना गर्न नसकेको वीरगञ्जका बौद्धिक वर्गको टिप्पणी छ । महानगरको मूख्य सडकको अवस्था हेर्दा बौद्धिक वर्गाको कुरा प्रमाणित हुन्छ । घण्टाघरदेखि माइस्थान चोकसम्मको बाटो खाल्डाहरुले भरिएको छ । वर्षायाममा अर्को मूख्य चोक आदर्शनगर पूर्ण रुपले डुब्छ । सरावगी भने उक्त सडक निर्माणको जिम्मेवारी महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिने गरेका छन् । तर उनै सरावगीले प्रदेश सरकारले घोषणा गरेको मधेशी शहिद पार्कमा कंक्रिटीकरण गरीरहेका छन् । 

त्यसैगरी महानगरवासीको लाइफलाईन मानिने सिर्सिया नदीको अवस्थापनि दिक्क लाग्दो छ । कालो दुर्गन्धित नदीले हाम्रो शहरको पहिचानलाई नै कालो बनाएको छ । तर नदीलाई सफा बनाउन महानगरका प्रतिनीधिहरुले केही गरेको देखिँदैन ।

No description available.

फोहोर व्यवस्थापनमा पनि महानगर चुकेको छ । निर्वाचित भएर आएदेखि फोहोर व्यस्थापनका लागि करोडौँ खर्च भएको मेयर सरावगीको दावीलाई मान्ने कुनै आधार छैन । यहाँका सडक, नाला र चोकचोकमा थुप्रिएको फोहर पनि पाँच वर्षदेखि उस्तै छ । तर मेयर सरावगी भने यसको जिम्मेवारी महानगरबासीलाई दिने गरेका छन् । हुनत फोहर व्यस्थापन महानगर एक्लैले गर्न नसक्ने कुरा हो, स्थानीयहरुको साथ पनि आवश्यक हुन्छ । यद्दपी, महानगरपालिकाले प्रयास पनि नगरेको अवस्था छ । फोहर व्यस्थापन नहुँदा यहाँ लामखुट्टेको समस्या विकराल छ ।

वीरगञ्ज महानगरपालिका भएपनि महानगरसँग हुने कुनै विशेषता नभएको सरावगीले पटक पटक स्विकार गर्दै आउनुले पनि बिकास नभको कुरालाई थप पुष्ठि गरेको छ । ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसँग जोड्न सघन शहरी बिकास कार्यालयले सडक नबनाईदिएको भए आज पनि कच्ची बाटो र धुलो तथा धुवा र हिलोमै नगरबासी पौँठेजोडी खेल्न विवश हुने थिए । 

No description available.

यतिबेला हामी निर्वाचनको संघारमा छौँ । अब जनता जाग्नुपर्ने बेला आएको छ । हामीले हाम्रो मतको मूल्य चिन्नुपर्छ । अहिले केही लोभ र प्रलोभनमा परेर मत बेच्यौँ भने भोली बिकास तथा सुविधा माग्ने अधिकार पनि हामीलाई हुँदैन । यसर्थ सक्षम र योग्य व्यक्तिलाई चिनेर बिकसित तथा समृद्ध वीरगञ्जका लागि सही व्यक्तिलाई मतदान गरौँ । 

Back to top