×

वीरगञ्ज, ६ बैशाख ।  लामो रस्साकस्सीपछि अन्ततः सत्ता गठबन्धनको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मंगलवार साँझ बसेको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगोमा पुगेको हो । 

पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले छोडेसँगै गठबन्धनको भागबण्डा सहमति भएको हो । गठबन्धनको सहमतिअनुसार वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीले पाएको छ । जनता समाजवादी पार्टी (जसपा) ले राजेशमान सिँहलाई जसपाको उम्मेदवार बनाएको छ । गठबन्धन हुने सहमति भएसँगै अब वीरगञ्ज महानगरपालिकामा ५ दलबाट राजेशमान सिँह र विपक्षी दल नेकपा एमाले र लोसपाको तर्फबाट बिजय कुमार सरावगीको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसको समर्थन पाउने देखिएपछि राजेशमानको जित्ने सम्भावना प्रबल देखिएको छ । 
त्यस्तै काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख नेपाली कांग्रेसले पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर र एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका पाएको छ । 

माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा उपमेयर काँग्रेसले पाएको छ भने काँग्रेसले प्रमुख पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा माओवादीले उपमेयर पाएको छ । 

११ वटा उपमहानगरपालिका मध्ये काँग्रेसले ७ वटामा प्रमुख पाएको छ । माओवादी केन्द्रले २, एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरपालिका प्रमुख पाएका छन् । बाराको कलैया उपमहानगरपालिकासहित बुटवल, तुल्सीपुर, इटहरी, धरान, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर काँग्रेसलाई  दिने सहमति भएको छ । 


यस्तै  जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको भएको छ । एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका मात्र पाउने सहमति भएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएको छ । 

यस्तै काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिका उपमेयरमा लिएको छ । धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रको भागमा परेको छ भने एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिएको छ ।

जसपाले कलैया उपमहानगरपालिका उपप्रमुख पाएको छ । नेपालगञ्ज र धनगढीको उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको छ । 

Back to top