वीरगञ्ज, २३ फागुन । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिका तथा प्रदेश सरकार विरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता नेजामोद्दिन समानी संघर्षरत छन् ।
उद्योग वाणिज्य संघ र विभिन्न संघ संस्थालाई गुहारेर पोखरिया अस्पतालमा निर्मित अप्रेशन थिएटर, आईसियु, एनआईसियु सञ्चालनमा तदारुकता नदेखाएको भन्दै नेता समानीले आपत्ति जनाएका छन् । लोसपा पोखरिया नगरपालिकाका संयोजकसमेत रहेका समानीले ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएकाहरुलाई औषधी तथा उपचार नगर्न अत्यन्तै दुःखद विषय भएको बताए ।
आवश्यक केमिकलको अभावमा अस्पतालमा भएका मेसिनहरु थन्क्याएर राख्नु र बिरामीलाई भर्ना नगर्नुले अस्पताल पक्ष र नगरपालिकाको असक्षमतालाई स्पष्ट पारेको नेता समानीको बुझाई छ । उनले भने, ‘कतै केही नभएर समस्या छ । यहाँ भएका उपकरण पनि सञ्चालन गरिएको छैन ।
प्रदेश सरकारले ५० बेड घोषणा गरी उपकरण पठाएपनि जनशक्ति नपठाउनु प्रदेश सरकारको कमजोरी हो ।’ पोखरिया हाई स्कुलदेखि लिएर नगर क्षेत्रभित्रका अनय विद्यालयहरुमा दरबन्दी नियुक्ती शिक्षक आपुर्ति एवम् अनय समस्याहरुलाई वेवास्ता गरेको दक्ष जनशक्तिलाई नियुक्ती दिनुपर्नेमा आफ्ना कार्यकतालाई भर्ति गरेको जस्ता कामहरुले नगरपालिका पुर्ण रुपमा असफल भएको समानीले यात्राडेलीसँगको कुराकानीमा भने ।
पर्सा जिल्लाको मध्य भागमा अवस्थित पोखरियामा सरकारी कार्यालयहरु स्थापनाका लागि समेत पहल नगरेको र आफुहरुले गरेको पहलमा पनि साथ नदिएको आरोप समानीले लगाएका छन् । समानीले पोखरियामा मालपोत कार्यालय, भूमि सुधार, नापी एवम् जिल्ला प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग उठाउँदै आएका छन् ।