×

वीरगञ्ज, १५ मंसिर ।  वीरगञ्जमा बोक्सी कुप्रथा विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाले राष्ट्र व्यापि कार्यक्रमअन्र्तगत वीरगञ्ज पब्लिक कलेजको सभा हलमा कार्यक्रम सम्पन्न गरेको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सहकार्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चेतनास्तरको विकास नहुँदा सम्म यस्ता कुप्रथाहरुको  अन्त्य नहुने बताए । अशिक्षित व्यक्तिहरुले अंगिकार गरेका कुप्रथाहरुलाई शिक्षित जमातले पनि निरन्तरता दिनु अत्यन्तै दुखद विषय भएको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले कुप्रथाको विरुद्धमा विद्यार्थीदेखि नै जागरुप बनाउनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अधयक्ष कोबिदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले  मान्छे बोक्सी हुन्छ भन्ने गलत प्रवृतिको मानसिकता अन्तय गर्नुपर्ने बताए । सबै नागरिकलाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिँदै प्रहरी उपरीक्षक बस्नेतले बोक्सीको आरोप लगाउनेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी पनि दिए ।

राष्ट्रव्यापी शिक्षामुलक कार्यक्रमकै परिणामस्वरुप ९० प्रतिशत नागरिकलाई मान्छे बोक्सी हुँदैन भनेर बुझाउन सफल भएको प्रतिष्ठानका अध्यक्ष उपाध्यायको दावी छ । अभियानकै क्रममा बोक्सी भनिएका १ सय जना महिलाहरुलाई न्याय दिनुका साथै नागरिकलाई जनचेतना जगाउने अभियानमा हातेमालो गर्न पनि उपाध्यायले आह्वान गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, बिपिसी कलेजका हरिरत्न तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

कलेजका कोर्डिनेटर बासुदेवलाल कर्णले कार्यक्रमको सहजिकरण गरेका थिए । सो अवसरमा बोक्सी सम्बन्धी चेतनामुलक भिडियो समेत देखाइएको थियो । 


 

Back to top