×

वीरगञ्ज, २३ असार ।  स्थानीय तहले असार १० गतेभित्र बजेट एवम् नीति तथा कार्यक्रम सार्वजनीक गरीसक्नुपर्ने स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था छ । तर ऐनअनुसारको अवधी सकिएको बुधवार तेह्रौँ दिन बित्दा पनि पर्सा जिल्लाका आधा स्थानीय तहले बजेट सार्वजनीक गरेका छैनन् । 

१४ वटा स्थानीय तह रहेको पर्सा जिल्लाका ७ वटा स्थानीय तहले हालसम्म पनि आगामी आर्थीक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनीक गरेका छैनन । बिन्दवासीनी, जिराभवानी, धोबीनी, कालिकामाई, पटेर्वासुगौली, जगरनाथपुर र ठोरी गाउँपालिकाको बजेट सार्वजनीक भएको छैन । 

प्रायः स्थानीय तहले भुक्तानीको बहाना बनाएपनि आपसी भागबण्डा नमिल्नु नै बजेट सार्वजनीकमा ढिलाई हुने मुख्य कारण भएको बुझीएको छ । खुलेर नबताएपनि स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुबिचको तालमेल नमिल्दा नीति तथा कार्यक्रम सार्वजनीकमा समय लागेको नागरिकको बुझाई छ । 

यीमध्ये कालिकामाई गाउँपालिकाले भने बजेट सार्वजनीक गरीसकेको दावी गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसियाले असार १५ गते नै बजेट सार्वनीक भइसकेको दावी गरे । 

गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले भने गाउँसभाको मिती तोकिएको दिन वडा नम्बर ३ का अध्यक्ष सञ्ज्य पटेललाई मातृशोक पर्नुका साथै सोही दिन नेपाली कांग्रेसका स्थानीय नेताको निधन भएपछि सार्वजनिक हुन नसकेको प्रतिक्रिया दिए । सबैको उपस्थितीमा सार्वजनीक नभएपनि लगभग ४० करोडको बजेट प्रस्तुत भएको तिवारीले बताए । 

त्यसैगरी धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार रौनियारले असार मशान्तको काममा व्यस्त हुँदा ढिलाई भएको स्विकार गर्दै असार २७÷२८ गतेसम्ममा सार्वजनीक गर्ने बताए । 

विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानुले पनि अहिले व्यस्तता बढेको बताउँदै नीति तथा कार्यक्रम सार्वजनी गर्न अविलम्ब भएको स्विकार गरे । उनले भने, ‘अहिले अली पिक आवरमा छौँ । भुक्तानीहरु गर्नुपर्ने कामहरुमा व्यस्त हुँदा सार्वजनी गर्न ढिलाई भइरहेको छ । तर अब यो भन्दा ढिलो हुँदैन । केही दिनभित्रै सार्वजनी गर्छाैँ ।’ 

ठोरी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष रामप्रकाश कुवँरले यही असार ३० गते सार्वजनीक गर्ने तयारी भइरहेको बताए । 

जिराभवानी गाउँपालिकाको बजेट असार २५ गते सार्वजनी हुने गाउँपालिकाकी उपाध्यक्ष उशादेवी थरुनीले बताईन् । 

पटेर्वासुगौली गाउँपालिकाले भने असार २४ गते सार्वजनीक गर्ने तयारी गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष ममता महतोका अनुसार प्राविधिक समस्या र आपसी समन्वयको अभावमा ढिलाई भएको हो । गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराउँदै दबाद दिएपछि बोर्ड बैठक बसेर बिहिवार सार्वजनीक गर्ने निर्णयअनुसार तयारी भइरहेको उपाध्यक्ष महतोको भनाई छ । 

जगरनाथपुर गाउँपालिका पनि त्यही अवस्थाबाट गुज्रिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष बिशमिल्लाह खातुनले केही दिनभित्रै सार्वजनी गर्ने बताउँदै बजेटको तयारी लगभग अन्तिम चरणमा पुगेको प्रतिक्रिया दिइन् ।  

वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई र पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी, छिपहरमाई र पकहा मैनपुर गाउँपालिकाले यसअघि नै बजेट सार्वजनीक गरीसकेका छन् ।  
 

Back to top