×

कोभिड एक्सन टिम (क्याट) ले प्रभु हस्पिटलमा अनुगमन गर्दै

वीरगञ्ज, ५ जेठ । बिरामीको उपचारमा बढी खर्च लिएर चौतर्फी आलोचित प्रभु हस्पिटलमा  कोभिड एक्सन टिम (क्याट) पर्साले अनुगमन गरेको छ । मंगलवार एकजना बिरामीको बिल सामाजिक सञ्जालमा भाइरल भएपछि क्याटले प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।

बुधवारदेखि वीरगञ्जका अक्सिजन उद्योगहरुको अनुगमन गर्ने पूर्वयोजना भएपनि प्रभुको अपरम्पार लिलाले क्याटलाई अनुगमन गर्न बाध्य बनाएको हो । अनुगमनको क्रममा अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोज कुमार गुप्ता र डा. लक्ष्मी थापा गुप्ताले भेट्न नमानेको र व्यवस्थापकका दिलिपराज कार्कीलाई भेट्न पठाएको क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले यात्राडेलीलाई बताए ।

अनुगमनमा गएको क्याटको टोलीले मागेको कागजपत्र र अन्य बिलहरु देखाउन अस्पताल प्रशासनले अस्वीकार गरेको अन्सारीको भनाई छ । क्याटको टोलीलाई अस्पतालका व्यवस्थापक कार्कीले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब एवम् क्याटका सदस्य तबरेज अहमदले बताए । कार्कीले उल्टै म आफै सामाजिक अभियानता हो भन्दै आलटाल गर्न खोजेको क्याटको कथन छ ।

अस्पतालले सबै कागजात नदेखाउँदा शंकास्पद देखिएको भन्दै अन्य अस्पतालहरुको अनुगमनपश्चता निस्किने निस्कर्षका आधारमा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सिफारिस गर्ने क्याटका संयोजक अन्सारीले बताए । क्याटको पूर्वयोजनाअनुसार बिहिवारदेखि अक्सिजन प्लान्टहको अनुगमन गरिने क्याटका सदस्य तथा नेपाल पत्रकार महासंघ पर्सा शाखा सदस्य अमित अग्रवालले जानकारी दिए ।

अनुगमन टोलीमा नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्र, माओवादी केन्द्रका बाबुराम कौशिक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत अर्जुन पौडेल लगायतको उपस्थिती रहेको थियो । 

Back to top