×

तस्विर सौजन्य ।

वीरगञ्ज । उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने वीरगञ्जका विभिन्न फर्म र उद्योगलाई वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले कारवाही गरेको छ । 

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले शुक्रबार गरेको अनुगमनको क्रममा उपभोक्ता ठगिरहेको आरोपमा वीरगञ्जका चार वटा फर्म र उद्योगलाई कारवाही गरेको हो ।

म्याद गुज्रेको खाद्या सामग्री एवम पेयपदार्थ विक्री वितरण गर्ने, मापदण्ड अनुसार उद्योग सञ्चालन नगर्ने, मूल्य सुची नराख्ने, विलविजक देखाउँन नसक्ने फर्म र उद्योगहरुलाई कारवाही गरिएको कार्यालयए जनाएको छ ।

अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित बच्चु ट्रेडर्स एण्ड सप्लायर्सलाई म्याद गुज्रेको खाद्यान्न विक्री वितरण गरेको पाइएको थियो । सप्लायर्सले सबैलाई देख्नेगरी साइनबोर्ड र मूल्यसुचीसमेत नझुन्ड्याएको पाएपछि कार्यालय उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ बमोजिम तत्काल २० हजार जरिवाना गरेको थियो ।

त्यसैगरी म्याद गुज्रेको पेयपदार्थ वियर विक्री गरिरहेजी राधेमाईस्थित अमित जेनरल स्टोरलाईपनि कारवाही गरिएको थियो । स्टोरले म्याद गुज्रेको २६ हजार ६ सय ९६ रुपैयाँको पाँच हजार, अर्ना र नेपाल आइस नामक वियर विक्री वितरण गरिरहेको पाइएको थियो । कार्यालयले सम्पूर्ण वियर जफत गरेर तत्कालै नष्ट गरेको थियो भने सञ्चालकलाई पाँच हजार जरिवाना गरेको थियो ।

त्यस्तै वीरगञ्जको पावर हाउस चोकमा रहेको विश्वनाथ किराना पसलले अनुगमनका क्रममा खरिद एवम् विक्री विल देखाउँन नसकेपछि पाँच हजार जरीवान गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजका प्रमुख जित बहादुर भण्डारीले बताए । 

यस्तै अन्नया फ्रेस चाउमिन उद्योगमा अनुगमन गर्दा कारखानाभित्र सरसफाई नभएको र कामदार सोही परिसरमा सुत्ने गरेकोले उद्योग व्यवस्थापन गर्न १५ दिनभित्र मिलाउन समय अवधि दिएको वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकार दिलिप खंग खत्वेले जानकारी दिए ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगञ्जका प्रमुख भण्डारीले कार्यालयको कामकाज सकिनासाथ आफुहरुले बजारको अनुगमनलाई तिव्रता दिएको बताए । 

अनुगमन टोलीमा वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास, जिल्ला प्रशासन कार्यालय पर्साका ब्रम्हदेव यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, जिल्ला प्रहरी कार्यालय पर्साका रामशरण राय क्षेत्री, कन्जुमर आई नेपालका रन्जु फुयाललगायतको सहभागिता रहेको थियो ।

Back to top