×

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका – ३ जीतपुरमा मङ्गलवार नेपाली काँग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले देशमा अहिलेको कम्युनिस्ट सरकारका कारण जनताले दुःख पाइरहेको आरोप लगाए । उनले सत्ताधारी कम्युनिस्ट पार्टीका नेताहरूको दम्भले देश बरबादी तर्फ गइरहेको आरोप पनि लगाए ।

पार्टीको सङ्गठन सुद्धिकरणका लागि आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने उनले बताए । पार्टीको सङ्गठनलाई अझ सक्रिय र सशक्त बनाउनका लागि पर्सा जिल्लाका गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरू आयोजना गरिने उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका प्रशिक्षक शाखा प्रमुख रामनारायण कुर्मीले काँग्रेसका सम्पूर्ण नेता कार्यकर्ता एक ढिक्का भएर अगाडि बढे मात्र जनताको इच्छा पूरा गर्न सकिने बताए । उनले प्रशिक्षणमा सिकेको कुरा आआफ्नो टोल टोलमा गएर जनतालाई बुझाई दिन आग्रह पनि गरे ।

काँग्रेस नेता तथा प्रदेश सांसद शङ्कर चौधरीले पार्टीलाई मजबुत बनाउन कार्यकर्ताहरू इमानदारीपूर्वक जिम्मेवारीमा लाग्नु पर्ने बताए । उनले मुलुकमा कम्युनिस्ट सरकारको दम्भले आम सर्वसाधारणमा निराशता छाएको आरोप पनि लगाए ।

काँग्रेस पर्साका उपसभापति कुर्मीको अध्यक्षता तथा सभापति क्षेत्रीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा फुलमहम्मद मियाँ, जितेन्द्रपुरुष ढकाल, अमृतलाल जोशी, धिरज गुप्ता, सरोज चौरसियालगायतले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा काँग्रेस पर्साका जिल्ला सचिव दिनेश चौधरी, कोषाध्यक्ष प्रेम बहादुर थापा, प्रवक्ता रमेश पाण्डे, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, मनमोहन चौधरी, युवा नेता हरिन्द्र यादवका साथै स्थानीय अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Back to top