×

उम्मेदवार दर्ता पश्चात् आफ्नो प्यानलसँग सामूहिक तस्बिर खिचाउँदै अध्यक्ष पदका उम्मेदवार डा. विश्वम्भर प्रसाद शर्मा । तस्बिर : महेश दासको फेसबुकबाट ।

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी – एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले) पर्सा जिल्लाको अध्यक्ष पदमा वर्तमान जिल्ला संयोजक डा. विश्वम्भर प्रसाद शर्मासहित तिन जनाले उम्मेदवारी दिएका छन् ।

सोमबारदेखि सुरु भएको नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशनअन्तर्गत मङ्गलवार बन्द सत्र सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ ।

जिल्ला कै दोस्रो ठूलो दलका रूपमा रहेको नेकपा एमालेको नेतृत्व सम्भावनाका लागि डा. शर्मासँगै कुनाल महतो थारु र हनिफ मियाँ जोलाहले अध्यक्ष पदमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् ।

छुटाछुटै प्यानल बनाएर उम्मेदवारी दिएकाहरूलाई केन्द्रदेखि जिल्ला स्तरका नेताहरूले समर्थन गरिरहेका छन् । जसमध्ये सबैभन्दा मजबुत प्यानल डा. शर्मा कै देखिन्छ । उनलाई केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्यद्वय प्रभु हजरा दुसाध र निर्मला देवकोटाको समर्थन रहेको बुझिएको छ ।

डा. शर्माको प्यानलबाट उपाध्यक्षमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, सचिवमा महेश दास र सह-सचिवमा नविजान मियाँ अन्सारी र महिला तर्फ गीता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उपाध्यक्षमा लालबाबु शेखले उम्मेदवारी दिएका छन् भने सचिवमा नवराज शर्मा र शिव प्रसाद पटेलले उम्मेदवारी दिएका छन् । पटेललाई अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताको समर्थन छ । त्यसै गरी सह-सचिवमा वीरगञ्ज महानगरपालिका – २० का वडाध्यक्ष राम किशोर सिंह पराग, इमरान हुसेन र महिला तर्फबाट सिता देवी लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

वीरगञ्जस्थित क्लासिक व्याङ्क्वेटमा दिउँसो २ बजेदेखि मतदान सुरु हुने नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए । दासका अनुसार नयाँ नेतृत्व चयनका लागि जिल्लाको १४ वटै स्थानीय तहबाट आएका ५ सय ९५  जना प्रतिनिधिले मतदान गर्नेछन् ।

Back to top