×

वीरगञ्ज ।  गएको चैतमा असोजपछिको उच्च आयात भएको छ । भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकमा चालू आर्थिक वर्ष २०८०/८१ को चैतमा १ खर्ब ३७ अर्ब ४७ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा १३ अर्ब ३२ करोड रुपैयाँ बराबरको निर्यात भएको उल्लेख छ ।

असोजमा दशैंतिहार जस्ता चाडबाडका लागि बढी आयात हुने गर्छ । असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो । फागुनमा उच्च भएको निर्यातमा भने चैतमा थोरै गिरावट देखिएको छ । 

उच्च शोधनान्तर घाटा र विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले गतवर्ष केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । नेपाल राष्ट्र बैंकले पनि कसिलो मौद्रिक नीतिमार्फत आयात निरुत्साहित गरेको थियो । 

तर, विदेशी मुद्रा सञ्चितिमा सुधारसँगै सरकारले आयात प्रतिबन्ध हटाउनुका साथै राष्ट्र बैंकले मौद्रिक नीतिलाई क्रमश: लचिलो बनाउँदै लगेको छ । यसैगरी बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । तर, बजारमा माग घट्दा वैदेशिक व्यापारमा उल्लेख्य सुधार नदेखिएको विज्ञहरूले बताउँदै आएका छन् । 

राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन बढे पनि औद्योगिक वस्तु उत्पादनको वृद्धि ऋणात्मक रहेको र थोक तथा खुद्रा व्यापारमा पनि शून्य दशमलव ५ प्रतिशत मात्र वृद्धि भएको तथ्यांक हालसालै सार्वजनिक गरेको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालू आर्थिक वर्षमा आयात, निर्यात दुवै घटेको छ । चालू आर्थिक वर्षको ९ महीनामा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको सामान निर्यात गरेको छ भने ११ खर्ब ६७ अर्ब ३६ करोडको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँको निर्यात गर्दा १२ खर्ब १ अर्ब ५० करोडको आयात भएको थियो । 

आयातनिर्यातसँगै व्यापार घाटा पनि घटेको छ । चालू आर्थिक वर्षको ९ महीनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गतवर्ष सोही अवधिमा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बराबर थियो । अघिल्लो वर्षको तुलनामा चालू वर्षको व्यापार घाटा २ दशमलव ७५ प्रतिशतले कम हो । आर्थिक अभियानबाट

Back to top