×

वीरगञ्ज । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक सङ्घ संस्थाले निकालेको धार्मिक र्‍यालीमा अवरोध भएपछि झडप भएको छ ।

झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले अश्रु ग्याँस समेत प्रयोग गरेको छ ।

मोरङ जिल्लाको सदरमुकाम समेत रहेको विराटनगर महानगरपालिका – १५ का स्थानीय हिन्दु युवाहरूले आज परेको रामनवमीको अवसरमा वृहत् र्‍याली निकाल्ने तयारी गरेका थिए । तर, स्थानीय अर्को समूहका युवाहरूले अवरोध गर्न खोजेपछि त्यहाँ झडपको अवस्था सृजना भएको थियो । दुवै समूहका युवाहरूले एक अर्कामाथि ढुंगामुढा समेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

हस्तक्षेपका क्रममा प्रहरीले भिडलाई तितरबितर गर्न केही सेल अश्रु ग्याँस र हवाई फायर समेत गरेको बुझिएको छ । झडपमा परेर झन्डै आधा दर्जन प्रहरी समेत घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिँदै थप अप्रिय घटना हुन् नदिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट विराटनगर १५ र १७ को बिचमा बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । अहिले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top