×

वीरगञ्ज । वीरगञ्ज कारागारमा रमजानमा रहेका मुस्लिम कैदी बन्दीलाई साँझको इफ्तारी गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराएका छन् । 

कारागारमा रहेका करिब २ सय ३५ जना मुस्लिम कैदी बन्दीलाई पुग्ने सामग्री उनले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन् । महानगरप्रमुख सिंहले पठाएको सामग्री कारागार प्रशासनका फिरोज अन्सारीलाई  हस्तान्तरण गरिएको प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिए । 

इफतारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिए । 

मुस्लिम समुदायको महत्त्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ । 

साँझ भने इफ्तारी गर्ने गर्दछन् । कारागारमा कैदी जीवन बिताइ रहेकालाई इफ्तारी गर्न खाद्य सामग्री अभाव नहोस् भनेर महानगर प्रमुख सिंहले व्यक्तिगत रूपमा सहयोग उपलब्ध गराएका हुन् ।

खाद्य सामग्री हस्तान्तरण गर्न युवा नेता रुपेशमान सिंह, जयप्रकाश कुशवाहा, खैरुद्दिन हवारी, भुसाल चौरसिया, अरसे आजम लगायतको सहभागिता रहेको थियो ।

Back to top