×

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका – ५  महुवनस्थित श्री रामजानकी इङ्लिस बोर्डिङ स्कुलको लापरवाहकी कारण एक जना बालक अस्पतालमा जीवन मृत्युसँग युद्ध गरिरहेका छन् ।

स्कुलका सञ्चालकहरूले घर निर्माणको काममा लगाउँदा लडेर घाइते भएका कक्षा एलकेजीमा पढ्ने महुवन निवासी ७ वर्षीय अनुप गोढ अहिले अस्पतालको शय्यामा जीवन र मृत्युसँग युद्ध गरिरहेका छन् ।

अभिभावकहरूका अनुसार पढ्न गएका अनुपसँग स्कुलका सञ्चालकहरूले मजदुरी गर्न लगाएपछि लडेर उनी घाइते भएका हुन् । उनको हाल बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचार चलिरहेको छ । सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको उनको टाउकोमा गम्भीर चोट लागेको अभिभावकहरूले जनाएका छन् । अस्पतालका अनुसार उनको टाउकोमा २८ वटा टाँका लागेको छ ।

स्कुलकी सञ्चालक भगवन्ती कलवारले घर निर्माणको काममा लगाएपछि उनी फलाममा लडेर घाइते भएको अनुपका पिता चन्दन साह गोढको आरोप छ । विद्यार्थीको उमेरको ख्याल नगरी विद्यालय नजिक निर्माण भइरहेको घरमा ज्यालादारीको काममा लगाउँदा आफ्नो छोरा घाइते भएको चन्दनको भनाई छ । भगवन्तीमाथि कारबाहीको माग गर्दै चन्दनले बुधवार इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएका छन् । 

यता विद्यालयकी सञ्चालक भगवन्तीले निर्माण भइरहेको स्कुलको भवनको भित्ताबाट लडेर बालक घाइते भएको बताएकी छन् । कुनै पनि बालकलाई आफूले भवन निर्माणको काममा नलगाएको स्पष्ट पारिन । भवन निर्माण भइरहेको ठाउँमा होली मनाउन तयारी गरिरहेका अन्य विद्यार्थीहरूसँगै गएका अनुप भित्ताबाट लडेर घाइते भएको उनको भनाई छ । अनुप घाइते भएको दिनदेखि नै आफूले उनको सम्पूर्ण उपचार समेत गराइरहेको भगवन्तीको भनाई छ ।

पीडितले बुधवार मात्र जाहेरी दिएकोले घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीले बताए ।

Back to top