×

वीरगञ्ज । भारतले अर्को हप्तादेखि नेपाललाई बिजुली निर्यात नगर्ने संकेत गरेपछि मंगलवार नेपाल र भारतबीच ऊर्जासचिव स्तरमा वार्ता भएको छ । आफ्नो विद्युत् व्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न भारतले आनाकानी गरिरहेका बेला दुई देशका ऊर्जासचिवबीच कुराकानी भएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीन सिंहका अनुसार ऊर्जासचिव गोपाल सिग्देलले उनका भारतीय समकक्षी पंकज अग्रवाललाई बिजुली निर्यात नरोक्न आग्रह गरेका हुन् । कुराकानीका क्रममा भारतीय ऊर्जासचिवले आसन्न लोकसभा चुनावको व्यस्तताका कारण यस विषयमा निर्णय गर्न नसकिएको र सोलार तथा अन्य स्रोतबाट बिजुली दिनेबारे छलफल भइरहेको जानकारी गराएको सिंहले बताए । प्रतिस्पर्धाका आधारमा भारतीय बजारबाट बिजुली किन्दा कुन स्रोतबाट आयो त्यो नहेरिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । ‘बिजुलीका विभिन्न स्रोतबाट दिन सकिने भन्नुको अर्थ इन्डियन इनर्जी एक्सचेन्जबाट नदिने संकेत  हुनसक्छ,’ उनले भने ।

इन्डियन इनर्जी एक्सचेन्जबाहेक सरकार–सरकारबीचको सहमतिबाट पनि दुई देशबीच बिजुली आयातनिर्यात हुने गरेको छ । तर, केही वर्षयता नेपालले एक्सचेन्ज मार्केटबाटै बिजुली लिँदै आएको छ । सिंह भने भारतीय पक्षले एक्सचेन्ज मार्केटबाट बिजुली नदिने नभनेको बताउँछन् । उनका अनुसार सरकारले भारतीय दूतावासमार्फत पनि आफ्नो चासो भारतीय पक्षलाई जानकारी गराएको छ ।

भारतले सम्झौता नवीकरण नगरे अर्को हप्ताबाट नेपालमा लोडशेडिङ हुने सम्भावना बढेको नेपाल विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरणका अनुसार यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । अहिलेको सम्झौताको म्याद चैत १८ गते सकिँदै छ । प्राधिकरण अधिकारीहरूका अनुसार ३ महीनादेखि सम्झौता नवीकरणका लागि आग्रह गर्दै आए पनि भारतको सम्बद्ध निकायले त्यसमा चासो देखाएको छैन ।

सम्झौता तत्काल नवीकरण नगरे कम्तीमा डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुने प्राधिकरणका अधिकारीहरूको भनाइ छ । प्राधिकरणका अनुसार हाल नेपालले ६०० मेगावाटभन्दा बढी भारतबाट आयात गर्दै आएको छ, जुन मागको एक तिहाइ जति हो । वैशाख अन्त्यसम्म नेपालको उत्पादन नबढ्ने भएकाले आगामी डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ ।

‘मागको एक तिहाइ बिजुली उपलब्ध नभए लोडशेडिङ गर्नुपर्ने स्थिति आउँछ,’ प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले सोमवार आर्थिक अभियानसँग भनेका थिए । यस्तो स्थितिमा गार्हस्थ्य (घरपरिवार) उपभोक्ता भन्दा औद्योगिक ग्राहकको बिजुली कटौती हुनसक्ने उनले संकेत गरेका छन् । भारतले २०७७ चैतमा पहिलोचोटि इन्डियन इनर्जी एक्सचेन्जबाट बिजुली किन्न अनुमति दिएको थियो ।

सम्झौताअनुसार नेपालले ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र महेन्द्रनगर टनकपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली आयात गर्न पाउँछ । भारतले विगतमा कुनै बहाना नगरी सम्झौता नवीकरण गर्दै आए पनि यसपालि चुनावको बहानामा नवीकरण गर्न नसकिने संकेत गरेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । भारतमा २०८१ वैशाख ५ गते शुरू भएर ६ हप्तासम्म विभिन्न चरणमा आम निर्वाचन हुँदै छ ।

Back to top